
काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतको पछिल्लो आदेशले पार्टीको आन्तरिक विवादसम्बन्धी वैशाख ४ गतेको फैसला उल्ट्याएको नभई पुनरावलोकनको बाटो मात्र खोलेको बताएका छन्।
शर्माका अनुसार सर्वोच्चको आदेशले निर्वाचन आयोगले गरेको दलको अभिलेख अध्यावधिक गर्ने निर्णयसमेत बदर गरेको छैन। अदालतको पछिल्लो आदेशलाई कांग्रेसले स्वाभाविक न्यायिक प्रक्रियाका रूपमा लिएको उनले बताए।
उनले नयाँ प्रमाण फेला परेमा वा विगतमा स्थापित नजिरसँग फैसला बाझिएमा अदालतले आफ्नै निर्णय पुनरावलोकन गर्न सक्ने कानुनी व्यवस्था रहेको उल्लेख गरे। तर, आफूहरूले हेर्दा यस प्रकरणमा न त नयाँ तथ्य देखिएको छ, न स्थापित नजिरसँग फैसला बाझिएको अवस्था रहेको शर्माको दाबी छ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ अनुसार महाधिवेशन सम्पन्न भएपछि दलको विवरण अध्यावधिक गर्ने क्रममा सुनुवाइ गर्ने परम्परा नरहेको उनले बताए।
शर्माले सर्वोच्चको पछिल्लो आदेशले पुनरावलोकनका लागि ढोका खोलेको मात्र दाबी गरे। उनका अनुसार निर्वाचन आयोगले अभिलेख अध्यावधिक गर्दा सम्बन्धित पक्षलाई सुनुवाइको अवसर नदिएको भन्ने आधारमा पुनरावलोकनको अनुमति दिइएको देखिन्छ। तर, यो विषय दल विभाजनसँग सम्बन्धित नभएकाले राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ आकर्षित नहुने उनको भनाइ छ।
निर्वाचन आयोगले संविधान र कानुनअनुसार महाधिवेशन विधिसम्मत रूपमा सम्पन्न भए वा नभएको विषय परीक्षण गर्ने शर्माले बताए। नेपाली कांग्रेसको विधानको दफा १७(२०) अनुसार विशेष महाधिवेशन सम्पन्न गरी नेतृत्व परिवर्तन तथा विधान संशोधनसम्बन्धी विवरण आयोगमा पेस गरिएको उनले जानकारी दिए।
विशेष महाधिवेशनपछि तत्कालीन कार्यवाहक सभापतिसहितको टोली आयोगमै पुगेर आफ्नो पक्षका तर्क र तथ्य प्रस्तुत गरिसकेको भन्दै शर्माले त्यसलाई पनि सुनुवाइको प्रक्रियाकै रूपमा बुझ्न सकिने बताए।
सर्वोच्च अदालतमा समेत लामो बहस र सुनुवाइपछि वैशाख ४ गते फैसला आएको उल्लेख गर्दै उनले ‘सुनुवाइको अवसर नदिइएको’ भन्ने आधारलाई त्यसबाटै प्रश्न उठ्ने बताए।
कांग्रेस अहिले १५औँ महाधिवेशनको तयारीमा रहेको उल्लेख गर्दै शर्माले पार्टीभित्रका यस्ता विवादको निरूपण मूलतः निर्वाचन आयोगबाटै हुनु उपयुक्त हुने धारणा राखे।
उनका अनुसार अदालतको आदेश र व्याख्यालाई कांग्रेसले सम्मान गर्नेछ। पुनरावलोकनको प्रक्रियामा विशेष महाधिवेशनसँग सम्बन्धित वैधानिक तथा राजनीतिक तथ्यहरू पुनः विस्तृत रूपमा प्रस्तुत गरिने उनले बताए।
“पुनरावलोकनको प्रक्रियालाई हामीले विशेष महाधिवेशनका तथ्य स्थापित गर्ने अर्को अवसरका रूपमा लिएका छौँ,” शर्माले भने।








Facebook Comments