काठमाडौं । कथित गुण्डानाइके मिलन गुरुङ ‘चक्रे मिलन’ र उनकी पत्नी इन्दिरा घले गुरुङविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्च अदालतले विशेष अदालतको फैसला सदर गर्दै उनीहरूलाई सफाइ दिएको छ।

सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमान र मेघराज पोखरेलको संयुक्त इजलासले विशेष अदालतले २०७४ माघ १० गते गरेको सफाइको फैसला सदर गरेको हो। यससँगै आठ वर्षदेखि पुनरावेदनमा रहेको मुद्दाको अन्तिम टुंगो लागेको छ।

ad

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मिलन गुरुङ दम्पतीले गैरकानुनी स्रोतबाट ७ करोड ८ लाख रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेको आरोप लगाउँदै उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो। तर, विशेष अदालतले विभागले प्रस्तुत गरेको प्रमाणका आधारमा आरोप पुष्टि हुन नसकेको ठहर गर्दै दुवैलाई सफाइ दिएको थियो।

विशेष अदालतको उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै विभागले सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो। सर्वोच्चले भने पुनरावेदन जिकिर स्वीकार नगर्दै विशेष अदालतको फैसला नै सदर गरेको हो।

सर्वोच्चको पछिल्लो निर्णयसँगै सम्पत्ति शुद्धीकरण अभियोगमा मिलन गुरुङ र उनकी पत्नी इन्दिरा घले गुरुङले कानुनी रूपमा सफाइ पाएका छन्।