
बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूबीच जोडघटाउ चलिरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने सत्ता समीकरणको गणितीय खेलबाट पूर्ण रूपमा बाहिरिने भएको छ।
राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बिहीबार राति अबेरसम्म बसेको बैठकले वर्तमान राजनीतिक परिस्थितिमा सरकार गठन वा फेरबदलको जोडघटाउमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको हो।
बिहीबार रातिको यो निर्णयसँगै बागमतीमा बहुमत पुर्याउन लागेका अन्य प्रमुख दलहरूको समीकरणमा नयाँ तरङ्ग पैदा भएको छ।
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको निर्णय र निर्देशनलाई हुबहु कार्यान्वयन गर्दै प्रदेश संसदीय दलले सरकारमा नजाने र सत्ता प्राप्तिको दौडमा नलाग्ने अडान लिएको हो।
संसदीय दलका नेता थापाका अनुसार बैठकले स्पष्ट रूपमा दुईवटा निर्णय गरेको छ: १. वर्तमान राजनीतिक अवस्थामा प्रदेश सरकारको सत्ता समीकरणको गणितीय चलखेलमा तटस्थ रहने। २. सरकार गठनको प्रक्रिया र दौडमा सामेल नहुने।
दलका नेता थापाले केन्द्रीय नीतिकै आधारमा प्रदेशमा पनि सरकार बाहिरै बसेर सशक्त भूमिका निर्वाह गर्ने निर्णय सर्वसम्मतिले पारित भएको जानकारी दिए।
राप्रपाको यो निर्णयसँगै बागमती प्रदेशमा नयाँ सरकार बनाउने प्रयासमा रहेका अन्य राजनीतिक दलहरूका लागि आवश्यक बहुमत जुटाउन थप सकस पर्ने देखिएको छ।









Facebook Comments