काठमाडौं– निर्वाचन आयोगले आगामी मतदाता नामावली अद्यावधिक अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले प्रदेश निर्वाचन अधिकारी र जिल्ला निर्वाचन अधिकारीहरूसँग अनलाइन माध्यमबाट छलफल गरेको छ।

बिहीबार सम्पन्न बैठकमा आयोगका पदाधिकारी तथा प्रदेश र जिल्ला तहका निर्वाचन अधिकारीहरूको सहभागिता रहेको थियो। बैठकमा मतदाता नामावली अद्यावधिक अभियानको तयारी, कार्ययोजना निर्माण र विभिन्न तहबीच आवश्यक समन्वयका विषयमा विस्तृत छलफल भएको आयोगले जनाएको छ।

ad

बैठकमा प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की तथा निर्वाचन आयुक्तहरू डा. जानकीकुमारी तुलाधर, सगुनशमशेर जबरा, गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाको सहभागिता थियो।

आयोगले यही साउन १५ गते बसेको बैठकबाट मतदाता नामावली अद्यावधिक अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। अभियानअन्तर्गत प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूले स्थानीय तहका वडा कार्यालयसँग समन्वय गरी आवश्यक विवरण संकलन गर्नेछन्।

विशेषगरी मृत्यु भएका मतदाता, अन्यत्र बसाइँसराइ गरेका व्यक्ति तथा मतदाता विवरणमा संशोधन गर्नुपर्ने नागरिकको विवरण संकलन गरी नामावली अद्यावधिक गरिने आयोगले जनाएको छ।

अभियानलाई प्रभावकारी बनाउन आयोगले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत देशभरका स्थानीय तहलाई आवश्यक सहयोग र समन्वयका लागि आग्रह गरेको छ।