
काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले पुनरावलोकनका लागि अनुमति दिएको निर्णयले वैधानिक र राजनीतिक तथ्यलाई थप स्पष्ट रूपमा प्रस्तुत गर्ने अवसर मिलेको बताएका छन्।
सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई वैधानिकता दिएको अघिल्लो आदेशविरुद्ध दायर पुनरावलोकन निवेदनमा सुनुवाइ गर्दै पुनरावलोकनको अनुमति दिएपछि शर्माले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
उनले यसअघि संयुक्त इजलासले रिट खारेज गरी विषयमा न्यायिक निरूपण गरिसकेको भए पनि पुनः हुने सुनुवाइले विशेष महाधिवेशनसँग सम्बन्धित कानुनी आधार र राजनीतिक यथार्थलाई अझ विस्तृत रूपमा उजागर गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
शर्माले संयम र परिपक्वताका साथ विशेष महाधिवेशनसँग सम्बन्धित सम्पूर्ण तथ्य र प्रमाण अदालतसमक्ष पुनः प्रस्तुत गर्न आफ्नो पक्ष तयार रहेको पनि उल्लेख गरेका छन्।
विशेष महाधिवेशनलाई आधिकारिकता दिने आदेश पुनरावलोकन गर्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा निवेदन दिएको थियो। प्रधानन्यायाधीश मनोजकुमार शर्मा तथा न्यायाधीश नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासले उक्त निवेदनमा पुनरावलोकनको अनुमति प्रदान गरेको हो।
उपसभापति शर्मा हाल चीन भ्रमणमा रहेका छन्।









Facebook Comments