काठमाडौं– निर्मला पन्त हत्या प्रकरणबारे संसद्मा दिएको अभिव्यक्तिलाई लिएर विवाद भएपछि गृहमन्त्री रमेश लेखक गुरुङले प्रतिनिधिसभामै माफी मागेका छन्। सांसदको प्रश्नको जवाफ दिने क्रममा आफूबाट केही कठोर शैलीमा अभिव्यक्ति आएको स्वीकार गर्दै उनले क्षमायाचना गरेका हुन्।

विपद्सम्बन्धी छलफलका क्रममा नेकपाका सांसद विष्णुबहादुर विश्वकर्माले निर्मला पन्तले कहिले न्याय पाउँछिन् भन्ने प्रश्न उठाएका थिए। त्यसक्रममा गृहमन्त्रीले उक्त विषयमा प्रश्न नगर्न आग्रह गरेका थिए। त्यसपछि सांसद विश्वकर्माले पुनः समयसीमा सोध्दै प्रश्न दोहोर्‍याएपछि गृहमन्त्रीले आक्रोशपूर्ण प्रतिक्रिया जनाएका थिए।

ad

केहीबेरपछि अन्य सांसदहरूको जिज्ञासाको जवाफ दिने क्रममा गृहमन्त्रीले आफ्नो अभिव्यक्ति उपयुक्त नभएको महसुस भएको भन्दै संसद्सामु माफी मागे।

उनले निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान अझै जारी रहेकाले सार्वजनिक रूपमा सबै विवरण खुलाउन नमिल्ने बताए। साथै, अनुसन्धान परिणाममुखी ढंगले अघि बढिरहेको र उपयुक्त समयमा त्यसबारे जानकारी दिइने विश्वास पनि व्यक्त गरे।

गृहमन्त्रीले विपद्सम्बन्धी छलफलका बीच निर्मला पन्तको विषय उठाइएको प्रसंगप्रति पनि प्रश्न उठाउँदै अनुसन्धान प्रभावित नहुने गरी सरकार काम गरिरहेको बताएका छन्।