
काठमाडौं– कोशी प्रदेशको मुख्यमन्त्री परिवर्तनको विषयमा नेकपा एमालेभित्र देखिएको विवाद तत्कालका लागि साम्य भएपछि प्रदेश इन्चार्ज शेरधन राईले आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले मुख्यमन्त्री परिवर्तनको प्रयास व्यक्तिगत स्वार्थ नभई पार्टीको निर्णय र निर्देशन कार्यान्वयनको प्रक्रिया भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको धारणामा राईले सत्ता साझेदार दलहरूबीच साउन ९ गते भएको तीनबुँदे सहमति कार्यान्वयन गर्न आफूले विभिन्न तहमा छलफल गरेको उल्लेख गरेका छन्। उनले यसलाई व्यक्तिगत चाहना वा महत्वाकांक्षासँग जोडेर गरिएको प्रचार गलत भएको दाबी गरेका छन्।
राईले आफू काठमाडौं नगई प्रदेशमै बसेर हस्ताक्षर अभियान सञ्चालन गरेको वा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गुण्डु बोलाएको भन्ने प्रचार निराधार र भ्रामक रहेको जिकिर गरेका छन्। उनका अनुसार प्रदेश अध्यक्ष र सचिवहरू नियमित कामका क्रममा काठमाडौं पुगेका बेला पार्टी नेतृत्वसँग भेटघाट र छलफल भएको मात्रै हो।
आफ्नो राजनीतिक छवि र निष्ठामाथि प्रहार गर्ने उद्देश्यले अफवाह फैलाइएको उल्लेख गर्दै उनले त्यस्ता प्रचारप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले आफू पार्टीको अनुशासित कार्यकर्ता भएको र पार्टीको निर्णय तथा निर्देशनलाई सधैं सम्मान गर्दै आएको बताएका छन्।
राईले कोशी प्रदेशको पहिलो मुख्यमन्त्री रहँदा पनि पार्टीको निर्देशनअनुसार सहज रूपमा नेतृत्व हस्तान्तरण गरेको स्मरण गर्दै अहिले पनि पार्टीको विधि, नीति र अनुशासनअनुसार नै अघि बढिरहेको स्पष्ट पारे।
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले हालका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई निरन्तरता दिने निर्णय गरेपछि नेतृत्व परिवर्तनको बहस तत्कालका लागि टुंगिएको थियो। त्यससँगै कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तनलाई लिएर विकसित विवाद पनि मत्थर बनेको छ।
राईले पार्टीका नेता–कार्यकर्ता, जनप्रतिनिधि तथा सर्वसाधारणलाई अपुष्ट सूचना र अफवाहको पछि नलागी आधिकारिक जानकारीलाई मात्रै विश्वास गर्न आग्रह गरेका छन्।









Facebook Comments