काठमाडौं– नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा प्रदान गरेको छ। यससँगै विशेष महाधिवेशनको वैधानिकतासम्बन्धी मुद्दामा अब पुनः विस्तृत सुनुवाइ हुने भएको छ।

प्रधानन्यायाधीश मनोजकुमार शर्मा तथा न्यायाधीश नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले बिहीबार पुनरावलोकनको निवेदन स्वीकार गर्दै निस्सा दिने आदेश गरेको हो।

ad

यसअघि सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई वैधानिकता दिने फैसला गरेको थियो। उक्त निर्णयविरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले पुनरावलोकनको माग गर्दै निवेदन दायर गरेको थियो।

विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा चयन भएका थिए। त्यसपछि महाधिवेशनको वैधतामाथि असहमति जनाउँदै देउवा पक्ष अदालत पुगेको थियो। अब पुनरावलोकन प्रक्रिया सुरु भएसँगै विवादित विषयमा सर्वोच्चले फेरि कानुनी परीक्षण गर्नेछ।

अदालतको पछिल्लो आदेशले पार्टीभित्र जारी आन्तरिक विवादको राजनीतिक समीकरणमा समेत प्रभाव पार्ने अनुमान गरिएको छ। संस्थापनइतर पक्षले साउन २९ गते राष्ट्रिय भेला बोलाइसकेको अवस्थामा पुनरावलोकनको प्रक्रिया अघि बढेपछि तत्काल विभाजनको सम्भावना केही समयका लागि टर्ने आकलन गरिएको छ।

यता स्वास्थ्य उपचारका क्रममा विदेशमा रहेका पूर्वसभापति शेरबहादुर देउवा साउन २६ गते नेपाल फर्किने कार्यक्रम रहेको बताइएको छ। उनको स्वदेश फिर्तापछि कांग्रेसभित्रको राजनीतिक गतिविधि थप तीव्र हुने अपेक्षा गरिएको छ।