
नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्र देखिएका असमझदारी संवादमार्फत समाधान गर्दै संगठनलाई थप एकताबद्ध र सुदृढ बनाउनुपर्ने बताएका छन्। ‘देश र कांग्रेस जोड्ने अभियान’ अन्तर्गत आयोजित एकता, सद्भाव र विमर्श कार्यक्रममा उनले कांग्रेसलाई सबैको साझा राजनीतिक घरका रूपमा अघि बढाउनुपर्ने धारणा राखे।
महरले कांग्रेसका नेता–कार्यकर्ताको लक्ष्य केवल उच्च पद प्राप्त गर्नु मात्र नभई जनताको सेवा र समाजको विकासमा योगदान गर्नु पनि रहेको बताए। वडा तहदेखि केन्द्रसम्म विभिन्न जिम्मेवारीमा रहेर पार्टी र समाजका लागि काम गर्ने कार्यकर्ताको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो।
उनले अभियानका क्रममा देशभरका नेता–कार्यकर्तासँग प्रत्यक्ष संवाद गरेको र करिब ६ हजारभन्दा बढी सुझाव तथा प्रतिक्रिया प्राप्त भएको जानकारी दिए। ती सुझावको अधिकांश हिस्सा पार्टीभित्र एकता कायम गर्दै संगठनलाई अझ प्रभावकारी बनाउन केन्द्रित रहेको उनले उल्लेख गरे।
कांग्रेसलाई बीपी कोइरालाले स्थापना गरेको साझा घरको संज्ञा दिँदै महरले पार्टीभित्र उत्पन्न हुने मतभेदलाई संवाद, सहअस्तित्व र आपसी सम्मानका आधारमा समाधान गर्नुपर्ने बताए। उनका अनुसार फरक विचार हुनु स्वाभाविक भए पनि त्यसले संगठनको एकतालाई कमजोर बनाउनु हुँदैन।
उनले कांग्रेसले पुराना र नयाँ दुवै पुस्ताको अनुभव, योगदान र सम्भावनालाई समान रूपमा सम्मान गर्नुपर्ने धारणा राखे। इतिहासदेखि वर्तमानसम्म पार्टीका लागि योगदान गरेका सबैलाई समेट्न नसके संगठन कमजोर बन्न सक्ने उनको चेतावनी थियो।
वर्तमान राजनीतिक र आर्थिक अवस्थाबारे टिप्पणी गर्दै महरले देशमा सामाजिक, आर्थिक तथा राजनीतिक चुनौती बढिरहेको उल्लेख गरे। व्यापारी, किसान, शिक्षक, चिकित्सक, विद्यार्थीलगायत विभिन्न वर्ग समस्याबाट प्रभावित भएको भन्दै उनले जनतामा बढ्दो निराशा हटाउन जिम्मेवार राजनीतिक नेतृत्व आवश्यक रहेको बताए।
महरले विभाजितभन्दा एकताबद्ध कांग्रेसले मात्रै देशका जटिल चुनौतीको प्रभावकारी सामना गर्न सक्ने उल्लेख गर्दै पार्टीभित्र सहकार्य, संवाद र एकतालाई थप मजबुत बनाउन सबै नेता–कार्यकर्तालाई आग्रह गरे।









Facebook Comments