
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी महाधिवेशनको तयारीलाई तीव्रता दिँदै विभिन्न समिति गठन गरेर नेताहरूलाई जिम्मेवारी बाँडफाँट गरेको छ। बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले महाधिवेशनलाई व्यवस्थित, प्रभावकारी र भव्य रूपमा सम्पन्न गर्न मूल आयोजक समिति मातहत विभिन्न उपसमिति गठन गर्ने निर्णय गरेको हो।
पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा राजनीतिक प्रतिवेदन समिति गठन गरिएको छ। त्यसैगरी उपाध्यक्ष बुद्धिमान तामाङलाई सभा तथा जुलुस व्यवस्थापन, उपाध्यक्ष ध्रुवबहादुर प्रधानलाई अतिथि सत्कार र उपाध्यक्ष हेमजङ गुरुङलाई भोजन व्यवस्थापन समितिको संयोजकको जिम्मेवारी दिइएको छ।
महामन्त्री भुवन पाठकले समारोह व्यवस्थापन समितिको नेतृत्व गर्नेछन् भने महामन्त्री राजेन्द्र गुरुङलाई जिल्ला समन्वय तथा सम्पर्क समितिको संयोजक बनाइएको छ। कोषाध्यक्ष नीलकण्ठ काफ्ले आर्थिक समितिको संयोजक रहेका छन्। गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङलाई सांस्कृतिक कार्यक्रम तथा झाँकी व्यवस्थापनको जिम्मेवारी दिइएको छ।
यस्तै, कार्यसम्पादन समिति सदस्य डा. विष्णु भण्डारीको नेतृत्वमा बौद्धिक सम्पर्क तथा समन्वय समिति र प्रवक्ता मोहन श्रेष्ठको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको छ।
बैठकले केन्द्रीय सदस्य दीपक रञ्जितलाई शान्ति सुरक्षा तथा व्यवस्थापन, ई. सजिना कार्कीलाई स्वास्थ्य तथा ध्रुव विक्रम मल्ललाई स्वयंसेवक व्यवस्थापन समितिको संयोजकको जिम्मेवारी दिएको छ। साथै काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला समितिलाई स्वागतद्वार व्यवस्थापनको जिम्मेवारी सुम्पिएको छ।
राप्रपाको आगामी महाधिवेशन मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा आयोजना हुने तय भएको छ। पार्टीले महाधिवेशनको तयारीलाई समयमै सम्पन्न गर्न जिम्मेवारी प्राप्त समितिहरूलाई सक्रिय रूपमा काम अघि बढाउन निर्देशन दिएको छ।









Facebook Comments