प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता र जवाफदेहिताको क्षेत्रमा अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाउँदै १५ बुँदे निष्कर्ष सार्वजनिक गरेको छ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता देवराज चालिसेले सरकारका कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै सुरक्षा, सुशासन, भ्रष्टाचार नियन्त्रण, अभिव्यक्ति स्वतन्त्रता, सार्वजनिक खरिद, शिक्षा, कृषि, निजी क्षेत्र र महँगीलगायतका विषयमा सरकारको भूमिका कमजोर रहेको दाबी गरे।

ad

कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज घटनामा राज्य संयमित हुन नसकेको आरोप लगाउँदै घटनाको निष्पक्ष छानबिनका लागि स्वतन्त्र उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको छ। त्यस्तै, भदौ २३–२४ मा भएका घटनाको सत्यतथ्य सार्वजनिक गर्न सर्वस्वीकार्य छानबिन संयन्त्र गठन गर्न नसक्नु सरकारको नैतिक कमजोरी भएको पनि पार्टीको भनाइ छ।

पत्रकार सम्मेलनमा गृहमन्त्री सुधन गुरुङसँग जोडिएका आरोपको निष्पक्ष अनुसन्धान नभएको, सम्बन्धित सरकारी प्रतिवेदन सार्वजनिक नगरिएको तथा पुनः जिम्मेवारी दिइएको प्रक्रियामाथि प्रश्न उठाइएको थियो। कांग्रेसले यस विषयमा सरकारबाट स्पष्ट जवाफ आउनुपर्ने माग गरेको छ।

पार्टीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप भएको, सञ्चारकर्मीमाथि निगरानी र दबाबको वातावरण सिर्जना गरिएको आरोपसमेत लगाएको छ। माइतीघरबाट पक्राउ परेका जेनजी अभियन्तालाई रिहा गर्न तथा नागरिक र सञ्चारमाध्यममाथि हुने दबाब अन्त्य गर्न पनि कांग्रेसले सरकारसँग माग गरेको छ।

राहदानी खरिद प्रक्रियासम्बन्धी विषयमा प्रधानमन्त्रीको सचिवालय, सल्लाहकार र सम्बन्धित कम्पनीबीचको सम्बन्धबारे तथ्यसहित स्पष्ट जानकारी सार्वजनिक गर्नुपर्ने कांग्रेसको माग छ।

कांग्रेसले सरकारप्रति जनविश्वास कायम राख्न राजनीतिक प्रचारभन्दा पारदर्शिता, जवाफदेहिता र सुशासनलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याएको छ।