राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले खाना पकाउने एलपी ग्यासको सहज र नियमित आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न पनि सरकारलाई आग्रह गरेको हो।

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले उपभोक्ताको हितलाई केन्द्रमा राखेर बजार अनुगमनलाई थप प्रभावकारी बनाउन तथा आवश्यक नीतिगत र कार्यान्वयनात्मक पहल तत्काल अघि बढाउन सरकारलाई निर्देशन दिएको जनाएको छ।

ad

समिति सभापति जयन्तीदेवी राईले देशभर उपभोग्य वस्तु तथा सेवाको गुणस्तरीय र सहज आपूर्ति सुनिश्चित गर्नु सरकारको दायित्व भएको उल्लेख गर्दै कृत्रिम अभाव र कालोबजारी नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने बताइन्।

समितिले दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्यवृद्धि नियन्त्रण गर्न, सर्वसाधारणको पहुँचलाई ध्यानमा राखी सुपथ मूल्य पसलको सञ्चालन, अनुगमन र विस्तारलाई प्रभावकारी बनाउन तथा सबै व्यापारिक प्रतिष्ठानमा अनिवार्य रूपमा मूल्यसूची राख्ने व्यवस्था कडाइका साथ लागू गर्न पनि सरकारलाई निर्देशन दिएको छ।

यसबाहेक संघ, प्रदेश र स्थानीय तहबीच समन्वय बढाएर नियमित बजार अनुगमन सञ्चालन गर्न, उपभोक्ताका गुनासोको छिटो र प्रभावकारी सुनुवाइको व्यवस्था मिलाउन तथा उपभोक्ता अदालतको भूमिकालाई थप सक्रिय र प्रभावकारी बनाउन पनि समितिले सरकारको ध्यानाकर्षण गराएको छ।