नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न नीतिगत तथा अध्ययनमूलक क्षेत्र समेट्दै थप ६ वटा उपसमिति गठन गरेको छ। प्रतिष्ठानका प्रमुख तथा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको छैटौँ बैठकले नयाँ उपसमिति गठनसँगै तिनका संयोजकहरूको जिम्मेवारीसमेत निर्धारण गरेको हो।

बैठकको निर्णयअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध, समन्वय एवं सामयिक दृष्टि उपसमितिको संयोजकमा सुमित शर्मा ‘समीर’ नियुक्त भएका छन्। त्यसैगरी उपभोक्ता अधिकार, अवस्था र न्याय समन्वय उपसमितिको नेतृत्व कैलाश केसीले गर्नेछन् भने यौनिक तथा लैंगिक अल्पसंख्यकसम्बन्धी नीति तथा कार्ययोजना उपसमितिको संयोजकमा प्रतीक्षा चापागाई चयन भएकी छन्।

ad

यस्तै, ज्येष्ठ नागरिक सेवा एवं गरिमा उत्थान उपसमितिको संयोजकको जिम्मेवारी अनुपा श्रेष्ठलाई दिइएको छ। सीमान्तीकृत वर्ग तथा समुदाय संवाद र सशक्तीकरण उपसमितिको नेतृत्व नरेन्द्र पासवानले सम्हाल्नेछन् भने स्थानीय तह सुशासन अध्ययन, अनुगमन तथा नीतिगत सुधार उपसमितिको संयोजकमा डोलराज भुसाल नियुक्त भएका छन्।

बैठकले हालसम्म गठन भएका उपसमितिहरूको कार्यसम्पादनलाई प्रभावकारी बनाउन पार्टी सभापतिसँग परामर्श गरी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई आवश्यक समन्वय र सहजीकरणको जिम्मेवारी दिने निर्णयसमेत गरेको छ।

नयाँ निर्णयसँगै नेपाली कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गत गठन भएका उपसमितिहरूको संख्या ३१ पुगेको प्रतिष्ठानले जनाएको छ।