विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीविरुद्ध दलभित्रै हस्ताक्षर अभियान तीव्र बनेको छ। अभियानले गति लिएसँगै मुख्यमन्त्री पक्ष र असन्तुष्ट समूहबीचको विवाद थप सतहमा आएको छ।

एमाले स्रोतका अनुसार केही सांसदहरूले संसदीय दलको नेतृत्व परिवर्तनको माग गर्दै हस्ताक्षर संकलन गरिरहेका छन्। अभियानमा सक्रिय पक्षले आवश्यक समर्थन जुटाउने प्रयास भइरहेको दाबी गरेको छ भने मुख्यमन्त्रीनिकट सांसदहरूले यसलाई पार्टीभित्र भएको सहमतिविपरीतको गतिविधि भन्दै असन्तुष्टि जनाएका छन्।

ad

सोमबार विराटनगरस्थित एमाले प्रदेश कार्यालयमा बसेको पदाधिकारी र संसदीय दलको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न प्रदेश इन्चार्ज शेरधन राई, मुख्यमन्त्री कार्की र प्रदेश अध्यक्ष घनश्याम खतिवडालाई काठमाडौं पठाउने सहमति गरेको थियो। तर त्यसलगत्तै हस्ताक्षर अभियान अघि बढाइएपछि मुख्यमन्त्री पक्षले आपत्ति जनाएको छ।

एमाले सांसद रेवतीरमण भण्डारीले शीर्ष नेतृत्वसँग छलफल गर्ने सहमतिबीच समानान्तर रूपमा दबाब सिर्जना गर्ने प्रयास उचित नभएको बताए। उनका अनुसार केही सांसदमाथि हस्ताक्षर गर्न दबाब दिइएको भए पनि धेरैले त्यसमा सहभागिता जनाएका छैनन्।

यता असन्तुष्ट समूहका एक सांसदले भने आवश्यक समर्थन जुटाउने काम अन्तिम चरणमा पुगेको दाबी गरेका छन्। उनका अनुसार शीर्ष नेतृत्वसँगको छलफलबाट पनि सहमति नभए हस्ताक्षरका आधारमा संसदीय दलको नेतृत्व परिवर्तनको प्रक्रिया अघि बढाइनेछ।

स्रोतका अनुसार प्रदेश सरकारका केही मन्त्रीहरूले पनि हस्ताक्षर अभियानमा सहभागिता जनाएको दाबी गरिएको छ। यद्यपि एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोले भने आफ्नो जानकारीमा यस्तो कुनै औपचारिक हस्ताक्षर अभियान नरहेको बताएका छन्।

एमालेभित्रको यो विवाद पार्टी नेतृत्वको निर्देशन, प्रदेश सरकारको नेतृत्व र गठबन्धनसम्बन्धी सहमति कार्यान्वयनको विषयसँग जोडिएको बताइएको छ।

एमाले संसदीय दलको विधानअनुसार दलको नेता हटाउन कायम सदस्य संख्याको दुईतिहाइ बहुमतबाट अविश्वास प्रस्ताव पारित हुनुपर्ने व्यवस्था छ। यद्यपि संसदीय दलको नेतामा परिवर्तन भए पनि मुख्यमन्त्री पदबाट हटाउन भने प्रदेशसभामा संविधानअनुसार छुट्टै अविश्वास प्रस्तावको प्रक्रिया पूरा गर्नुपर्ने कानुनी व्यवस्था छ।