काठमाडौं । विभिन्न राजनीतिक दलका नेताहरू नयाँ संयुक्त राजनीतिक मोर्चा गठनको तयारीमा जुटेका छन्। माओवादी केन्द्रबाट अलग भएर गठन भएको प्रगतिशील लोकतान्त्रिक पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी (नेपाल), आम जनता पार्टी, बहुजन समाज पार्टी, संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीसहित सात दलले साउन २३ गते काठमाडौंमा मोर्चा घोषणा गर्ने तयारी गरेका हुन्।

जनता समाजवादी पार्टी (नेपाल) का अध्यक्ष उपेन्द्र यादवका अनुसार मोर्चाले आफ्नो उद्देश्य, नीति, कार्यक्रम र कार्यदिशा सार्वजनिक गर्नेछ। मोर्चामा आबद्ध सबै दलका नेताको हैसियत समान रहने र निर्णयहरू आपसी सहमतिका आधारमा गरिने उनले बताए।

ad

यादवले छरिएर राजनीति गर्दा अपेक्षित परिणाम हासिल गर्न नसकिएको निष्कर्षका आधारमा प्रगतिशील र लोकतान्त्रिक शक्तिहरूलाई एक ठाउँमा ल्याउने प्रयास गरिएको बताए। उनका अनुसार मोर्चाको मुख्य उद्देश्य मुलुकको वर्तमान राजनीतिक अवस्थाबाट निकास खोज्ने र साझा एजेन्डाका साथ अघि बढ्नु हो।

उनले संसद्बाट जनताका आवाज प्रभावकारी रूपमा सम्बोधन हुन नसके सडकबाट पनि साझा रूपमा आवाज उठाउनुपर्ने अवस्था आउन सक्ने संकेत गरे। यद्यपि मोर्चाको उद्देश्य सरकार परिवर्तनभन्दा पनि राष्ट्रिय मुद्दामा साझा धारणा निर्माण गर्दै दबाब सिर्जना गर्नु रहेको उनको भनाइ छ।

मोर्चाको नेतृत्वबारे कुनै एक व्यक्तिलाई अगाडि नल्याई सामूहिक नेतृत्वको अवधारणाअनुसार सञ्चालन गरिने यादवले बताए। आवश्यक परे सञ्चालक मण्डलको ढाँचामा मोर्चा सञ्चालन हुन सक्ने उनको भनाइ छ।

भविष्यमा विश्वास र सहकार्य अझ सुदृढ भए पार्टी एकतासम्म पुग्ने लक्ष्य रहेको उनले बताए। यद्यपि अहिलेका लागि पार्टीको नाम, चुनाव चिह्न वा एकीकरणका प्राविधिक विषयमा कुनै निर्णय नभएको स्पष्ट पारे।

यादवले राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा तथा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग सहकार्यको सम्भावना नरहेको उल्लेख गर्दै प्रगतिशील र वैकल्पिक राजनीतिक शक्तिबीच मात्रै सहकार्य विस्तार गर्ने नीति रहेको बताए।

उनका अनुसार विगतका विभाजन र नेतृत्व विवादबाट शिक्षा लिँदै यसपटक सहकार्यलाई दीर्घकालीन र विश्वासमा आधारित बनाउने प्रयास गरिएको हो। उनले यो मोर्चा केवल निर्वाचन केन्द्रित नभई लोकतान्त्रिक तथा प्रगतिशील शक्तिहरूको साझा राजनीतिक अभियानका रूपमा अघि बढाइने दाबी गरे।