काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सुनसरीसहित तराईका विभिन्न जिल्लामा हालै भएका हिंसात्मक घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले सुनसरी, सिरहा, धनुषा र पर्सामा भएको घटनाका क्रममा नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था किन सिर्जना भयो भन्ने विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग गरे।

ad

आङदेम्बेले आन्दोलनका क्रममा गोली चलाउनुपर्ने अवस्था कसरी आयो भन्ने विषयमा सरकारले संसद् र जनतासामु जवाफदेही हुनुपर्ने बताए। घटनाको वास्तविक कारण सार्वजनिक गर्न र जिम्मेवारी स्पष्ट पार्न पनि उनले सरकारलाई आग्रह गरे।

उनले आन्दोलन र झडपका क्रममा भएका भौतिक तथा व्यक्तिगत सम्पत्तिको क्षतिको यथाशीघ्र मूल्याङ्कन गरी पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए।

घटनाको निष्पक्ष छानबिनका लागि अधिकारसम्पन्न र विश्वासिलो न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आङदेम्बेले सत्यतथ्य बाहिर ल्याउन सरकार गम्भीर बन्नुपर्ने धारणा राखे।