
काठमाडौं । नेकपा (एमाले) ले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकारसँग सहकार्य गर्न आफू तयार रहेको जनाएको छ। एमालेले यी दुवै समस्यालाई एकीकृत दृष्टिकोणबाट सम्बोधन गरे मात्र प्रभावकारी समाधान सम्भव हुने धारणा पनि राखेको छ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा ‘भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी नागरिकको अवस्था र व्यवस्थापन’ सम्बन्धी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्दै एमाले सांसद पद्मा अर्यालले दीर्घकालीन समाधानका लागि सरकारले अघि बढाउने नीतिगत पहलमा आफ्नो पार्टीले आवश्यक सहयोग गर्ने बताइन्।
उनले एमाले नेतृत्वको सरकारले भूमि नीति निर्माण तथा भू–उपयोगसम्बन्धी कानुन ल्याएर भूमि व्यवस्थापनको आधार तयार पारेको उल्लेख गर्दै ती कानुनी र नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयनले समस्या समाधानमा टेवा पुग्ने विश्वास व्यक्त गरिन्।
अर्यालले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई छुट्टाछुट्टै रूपमा हेरेर समाधान खोज्दा अपेक्षित उपलब्धि हासिल गर्न कठिन हुने भन्दै समग्र र समन्वित नीति आवश्यक रहेको धारणा राखिन्।
उनले सरकारलाई वास्तविक सुकुम्बासीको अवस्था र आवश्यकतालाई केन्द्रमा राखेर व्यवहारिक तथा दीर्घकालीन समाधानको योजना बनाउन आग्रह गर्दै यस विषयलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन्।









Facebook Comments