काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सरकारले आर्थिक समृद्धिलाई मुख्य लक्ष्य बनाएर अघि बढिरहेको बताएका छन्। परराष्ट्र मन्त्रालयमा आर्थिक कूटनीति महाशाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आर्थिक विकासका लागि अन्तरराष्ट्रिय सहायता र व्यापारलाई प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने आवश्यकता औँल्याए।

उनले नेपालले अन्तरराष्ट्रिय सहयोग र व्यापारबाट प्राप्त हुने अवसरलाई अझ बढी उपयोग गर्न नीतिगत स्पष्टता र सक्रिय पहल आवश्यक रहेको बताए। वर्तमान भूराजनीतिक परिस्थितिले नयाँ चुनौती सिर्जना गरिरहेको उल्लेख गर्दै मन्त्री खनालले राष्ट्रिय प्राथमिकता स्पष्ट गरेर अघि बढ्नुपर्नेमा जोड दिए।

ad

नेपालले कम विकसित मुलुक (एलडीसी) का रूपमा विभिन्न देशबाट शून्य भन्सार सुविधा प्राप्त गरे पनि त्यसको पूर्ण लाभ लिन नसकेको उल्लेख गर्दै उनले विगतका कमजोरीको समीक्षा गरी आगामी रणनीति तय गर्नुपर्ने धारणा राखे। सीमित स्रोतसाधनलाई प्रभावकारी रूपमा परिचालन गर्न प्राथमिकताका आधारमा काम गर्नुपर्ने उनको भनाइ थियो।

मन्त्री खनालले विदेशस्थित नेपाली नियोगहरूले पनि आर्थिक कूटनीतिलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्नुपर्ने आवश्यकता औँल्याए। उनले बदलिँदो विश्व व्यवस्थामा राजनीतिक प्रभाव आर्थिक क्षमतासँग जोडिने भएकाले त्यसअनुसार नीति निर्माण र कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए।

कार्यक्रममा एसोसिएसन अफ फर्मर करिअर एम्बास्डर्स अफ नेपाल (अफकान) का अध्यक्ष तथा पूर्वराजदूत भगिरथ बस्नेतसहित पूर्वराजदूत, कूटनीतिज्ञ र सरकारी अधिकारीहरूको सहभागिता रहेको थियो।

उक्त अवसरमा पूर्वपरराष्ट्र सचिव ज्ञानचन्द्र आचार्यले अन्तरराष्ट्रिय सहायता तथा पूर्वराजदूत दीपक धितालले व्यापारसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए। मन्त्री खनालले दुवै कार्यपत्रलाई उपयोगी र सान्दर्भिक भएको उल्लेख गर्दै प्रस्तोताप्रति धन्यवाद व्यक्त गरे भने परराष्ट्र सचिव अमृतबहादुर राईले पनि ती कार्यपत्र आर्थिक कूटनीतिका दृष्टिले महत्त्वपूर्ण रहेको बताए।