
काठमाडौं । नेपाल तरुण दलले संगठनको आधिकारिक नीति र निर्देशनविपरीत सञ्चालन हुने कुनै पनि गतिविधि वा भेलामा सहभागी नहुन आफ्ना नेता–कार्यकर्तालाई स्पष्ट निर्देशन दिएको छ। संगठनले अनुशासन उल्लङ्घन गर्नेहरूमाथि आवश्यक कारबाही गरिने चेतावनीसमेत दिएको छ।
तरुण दलका केन्द्रीय अध्यक्ष मनिष कोइरालाले सोमबार जारी गरेको विज्ञप्तिमा संगठनको नाम प्रयोग गरी अनधिकृत रूपमा कार्यक्रम आयोजना गर्ने वा भ्रम फैलाउने प्रयास भइरहेको भन्दै त्यसप्रति सचेत रहन आग्रह गरेका छन्।
विज्ञप्तिअनुसार दलले तय गरेका विचार, कार्यक्रम र योजनाभन्दा बाहिर गएर सञ्चालन हुने गतिविधिले संगठनको छविमा असर पुग्ने भएकाले त्यस्ता कार्यमा संलग्न नहुन सबैलाई अनुरोध गरिएको छ।
पछिल्लो समय केही व्यक्ति वा समूहले तरुण दलको नाममा छुट्टै भेला तथा सभा आयोजना गरिरहेको उल्लेख गर्दै संगठनले त्यस्ता कार्यक्रमसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ।
अध्यक्ष कोइरालाले संगठनको बल संस्थागत अनुशासन, निरन्तरता र लोकतान्त्रिक मूल्यप्रतिको प्रतिबद्धतामा रहेको उल्लेख गर्दै नेपाल तरुण दल बीपी कोइरालाले अघि सारेको लोकतान्त्रिक आदर्श र नेपाली कांग्रेसको संगठनात्मक पद्धतिअनुसार नै अघि बढिरहेको बताएका छन्।










Facebook Comments