
जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद मनिष झा ले पार्टीका सदस्यहरूलाई व्यक्तिगतरूपमा हिन्दूवादी अभियान वा गतिविधिमा संलग्न हुन कुनै बन्देज नरहेको स्पष्ट पारेका छन्।
आइतबार जनकपुरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद झाले ‘हिन्दू सम्राट सेना’को तर्फबाट सरकारसँग हालै भएको वार्तामा सहभागी एक प्रतिनिधि रास्वपाको साधारण सदस्यसमेत रहेको स्वीकार गरेका छन्। उक्त विषय सार्वजनिक भएपछि विभिन्न वृत्तबाट आलोचना भए पनि झाले यसलाई अनावश्यक रूपमा विवादित बनाइएको दाबी गरेका छन्।
व्यक्तिगत स्वतन्त्रता र राजनीतिक आबद्धता अलग विषय
सांसद झाले कुनै पनि नागरिकले राजनीतिक दलको सदस्य रहँदैमा आफ्नो धार्मिक आस्था र सोसँग सम्बन्धित अभियानमा सहभागी हुन पाउनु मौलिक तथा व्यक्तिगत स्वतन्त्रताको विषय भएको बताएका छन्। पार्टीको सदस्य हुनु र हिन्दूवादी अभियानमा सक्रिय हुनु एकअर्कासँग नबाझिने उनको भनाइ रहेको छ।
«हाम्रो पार्टीका सदस्यमध्ये एकजना हिन्दूवादी अभियन्ता पनि हुनुहुन्छ। उहाँ रास्वपाको सदस्य हुनु र हिन्दूवादी अभियानमा सक्रिय हुनु एकअर्कासँग बाझिने विषय होइन। त्यो उहाँको व्यक्तिगत स्वतन्त्रता हो,» सांसद झाले भनेका छन्।
हिंसात्मक आन्दोलनलाई संवादमा रूपान्तरण गर्ने प्रयास
वार्तामा सहभागी भएकै आधारमा प्रश्न उठाउनु उचित नहुने तर्क गर्दै झाले आन्दोलन भनेको तोडफोड, आगजनी वा हिंसा मात्रै होइन भन्ने सोच विकास गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। उनले त्यस्ता व्यक्तिहरूको सहभागिताले आन्दोलनलाई हिंसात्मक बन्नबाट रोकी संवादमार्फत समाधान खोज्न सकारात्मक भूमिका खेलेको जिकिर गरेका छन्।
रास्वपामा औपचारिक रूपमा कुनै पनि भ्रातृ संगठन नरहे पनि पार्टीका सदस्यहरूले आफ्नो धार्मिक आस्था खुला रूपमा राख्न र व्यक्तिगत हैसियतमा त्यस्ता गतिविधि वा सरकारी वार्तामा समेत सहभागी हुन सक्ने सांसद झाले स्पष्ट पारेका छन्। हिन्दू सम्राट सेनाका प्रतिनिधिसँग सरकारले करिब साढे नौ घण्टा लामो गम्भीर संवाद गरेर समस्याको निकास निकालेको उनको भनाइ रहेको छ।









Facebook Comments