
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित र १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वबीचको विवाद उत्कर्षमा पुगेको बेला पार्टीलाई एकताबद्ध बनाउनुपर्ने माग गर्दै ‘देश र कांग्रेस जोड्ने अभियान’ घोषणा गरिएको छ।
राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमार्फत अभियानले आगामी साउन २० गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने औपचारिक घोषणा गरेको हो।
पत्रकार सम्मेलनमा राष्ट्रिय सभा सदस्य तथा कांग्रेस नेता रञ्जित कर्णले पार्टी सभापति गगनकुमार थापा र हालै चुनदेवीको पत्रकार सम्मेलनबाट संयोजक घोषणा गरिएका नेता डा. शशाङ्क कोइरालालाई व्यक्तिगत र गुटगत स्वार्थभन्दा माथि उठेर कांग्रेसलाई एक ढिक्का बनाउन आग्रह गरे।
त्यस्तै, पूर्व केन्द्रीय सदस्य नैनसिंह महरले नेपाली कांग्रेस कमजोर हुँदा मुलुकको लोकतन्त्र र राष्ट्रियता नै संकटमा पर्ने गरेको उल्लेख गर्दै पार्टीलाई जोड्न नेतृत्वलाई दबाब दिनैपर्ने आवश्यकता औँल्याए। उनले पार्टी एकताको यो अभियान आजैबाट विधिवत रूपमा सुरु भएको जानकारी दिए।
अभियानप्रति नेता-कार्यकर्ताको आकर्षण बढ्दै गएको र साउन २० गते हुने राष्ट्रिय भेलामा सहभागी हुन हालसम्म १ हजार ३५९ जना प्रतिनिधिले नाम दर्ता गराइसकेको नेता महरले बताएका छन्।
कार्यक्रममा तनहुँको भानु नगरपालिकाका नगरप्रमुख आनन्द त्रिपाठीले पार्टीभित्र देखिएको विवादले स्थानीय तहसम्म असर पारेको बताउँदै देश र कांग्रेस जोड्ने यो पवित्र अभियानमा एकजुट भएर साथ दिन देशभरका जनप्रतिनिधि तथा स्वाभिमानी कांग्रेसजनलाई आह्वान गरेका छन्।









Facebook Comments