काठमाडौं । नेपाली कांग्रेसका केही युवा नेताहरूले पार्टीका दुई पक्षलाई मिलाउन  ‘देश र कांग्रेस जोड्ने अभियान’ नयाँ अभियान घोषणा गरेका छन्।


आज काठमाडौंमा निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महर, राष्ट्रिय सभा सांसद रञ्जित कर्णसहितले यो अभियान घोषणा गरेका हुन्। उनीहरूले पार्टीभित्र देखा परेको मतभेद अन्त्यका लागि पालिका, प्रदेश र प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व सुनिश्चित हुने गरी साउन २० गते सुकेधारामा ‘राष्ट्रिय एकता भेला’ आयोजना गर्न लागिएको समेत पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

ad

भेलामा कांग्रेसबाट उम्मेदवार भई विभिन्न तहमा जितेका देशभरका जनप्रतिनिधिलाई बोलाइने कांग्रेस नेता महरले जानकारी दिए । उनका अनुसार भेलामा संस्थापन र संस्थापनइतर पक्षका नेताहरूलाई एकै मञ्चमा ल्याइनेछ। अभियान कुनै गुट, व्यक्ति र पदको लागि नभएको पनि पत्रकार सम्मेलनमा युवा नेताहरुले बताए । 

विज्ञप्तिको पूर्णपाठ :

आज हामी नेपाली कांग्रेसको मात्र होइन, लोकतान्त्रिक नेपालको भविष्यसँग जोडिएको एउटा गम्भीर विषय लिएर यहाँ उपस्थित भएका छौं। लामो समय देखि पार्टीभित्र देखिएको मतभेद, अविश्वास र आन्तरिक किचलोले संगठनलाई कमजोर बनाएको छ। आज पार्टी एकताको गम्भीर परीक्षणबाट गुज्रिरहेको छ। 


नेपालको राजनीतिक इतिहासले एउटा सत्य पटक–पटक प्रमाणित गरेको छ ,जब नेपाली कांग्रेस कमजोर हुन्छ, लोकतन्त्र कमजोर हुन्छस जब कांग्रेस विभाजित हुन्छ, लोकतान्त्रिक शक्तिहरू र राष्ट्रिय हितमाथि प्रतिगामी शक्तिहरू हाबी हुने वातावरण बन्छ। त्यसैले कांग्रेसको एकता कुनै दलगत स्वार्थको विषय होइन, यो लोकतन्त्रको रक्षा र राष्ट्रको स्थायित्वसँग जोडिएको राष्ट्रिय दायित्व हो।

दुर्भाग्यवश, यतिबेला देश अनेकौं चुनौतीबाट गुज्रिरहेको छ। सुनसरीबाट सुरु भएको साम्प्रदायिक तनाव मधेशका विभिन्न जिल्लासम्म फैलिँदा नेपाली नागरिकहरूले ज्यान गुमाएका छन्, अर्बौं मूल्य बराबरको धनसम्पत्तिमा क्षति पुगेको छ र नेपाली समाजको सद्भावमाथि चोट पुगेको छ। आर्थिक मन्दी, बेरोजगारी, युवाको पलायन, सुशासनको संकट र जनजीविकाका प्रश्न दिनप्रतिदिन गम्भीर बन्दै गएका छन्।

यस्ता राष्ट्रिय मुद्दामा सरकार प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको जनगुनासो बढिरहेको छ। अर्कोतर्फ, जनताको आवाज बुलन्द गर्नुपर्ने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस आफ्नै आन्तरिक विवादमा अल्झिनु लोकतन्त्रका लागि पनि चिन्ताको विषय बनेको छ।

यही परिस्थितिलाई आत्मसात् गर्दै हामीले  “देश र कांग्रेस जोड्ने अभियान” सुरु गरेका छौं। हाम्रो विश्वास छुएकताबद्ध कांग्रेसले मात्र जनताको विश्वास पुनः जित्न सक्छुलोकतन्त्रको प्रभावकारी रक्षा गर्न सक्छ र देशलाई सही राजनीतिक दिशामा अघि बढाउन सक्छ।

यसै उद्देश्यका साथ आगामी २०८३ साल साउन २० गते बिहान ११स्०० बजे मिराकल पार्टी प्यालेस सुकेधारा काठमाडौंमा देशभरका ७५३ पालिका, ३३० प्रदेशसभा निर्वाचन क्षेत्र, १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा विभिन्न तह, वर्ग र समुदायबाट प्रतिनिधित्व सुनिश्चित हुने गरी पार्टी भित्रको आन्तरिक एकता थप मजबुत पार्न ूराष्ट्रिय एकता भेला आयोजना गरिएको छ।

यो अभियान कुनै व्यक्ति, कुनै गुट वा कुनै पदका लागि होइन। यो अभियान एकताबद्ध कांग्रेस, सुदृढ लोकतन्त्र र समृद्ध नेपालको साझा संकल्प हो। उक्त भेलाबाट पार्टी एकतालाई संस्थागत बनाउने, जनतासँगको सम्बन्धलाई पुनर्जीवित गर्ने र अभियानको आगामी कार्ययोजना सार्वजनिक गरिनेछ।

हामी नेपाली कांग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक, लोकतन्त्रप्रेमी नागरिक तथा सञ्चारमाध्यमहरूलाई यस ऐतिहासिक अभियानमा साथ, सहयोग र सकारात्मक सहभागिताका लागि हार्दिक आह्वान गर्दछौं।

हाम्रो विश्वास स्पष्ट छस् कांग्रेस जुट्यो भने लोकतन्त्र बलियो हुन्छ। लोकतन्त्र बलियो भयो भने नेपाल बलियो हुन्छ। धन्यवाद।