गनिएका हल्लाखोरहरू आफू त जे भए भए

पुरै बस्तीलाई नै पागल तुल्याउन खोज्दैछन्

ad

काँध फेर्दा फेर्दै खप्लाकखुप्लुक भएर हराएका दुई

स्वर्ग-मर्त्यको सानो साँझमा टुप्लुक्क देखा पर्छन्

गुरुलाई पनि झुक्काएर नार्ने एक हल गोरु भएर

भन्छन्–

बाँचुन्जेल सँगै हिँड्ने अब यात्रा स्वर्ग-नर्कको

पार्टनरसिप सिक्स्टी-फोर्टीको।

 

गुफा भित्र बहने जलप्रवाहको दोभान जस्तो

यी दुईको पार्टनरसिप गजबको छ

अगाडि बढ्छन् स्वर्ग पुग्नको लागि

अर्थात्, आनन्दसँग बाँडचुँड गरेर खानको लागि

जब समाजवादको आर्जन बढ्छ

आफै मात्र सबै खाउँ भन्छन्

बाँडफाँडमा हिसाब किताब मिल्दैन

टक्क रोकिन्छन् भुमरी परेर फनफन घुम्न

अनि टुटफुट हुन्छ नर्क पुग्नको लागि

भोर्जनको लागि आ-आफ्नो आर्जन सिदा बोकेर बिदा हुन्छन्

यस्तै यस्तै क्रमभङ्ग हुँदै नै आएको छ।

 

आश्रम खोलेर भित्र व्यभिचार गर्ने मठाधीश स्वरूप जस्तो

बाहिर देखाउने कम्युनिस्ट आवरण छँदै छ

जसको उत्पत्ति ‘कम्युन’ बाट

जहाँ सब साझा हुन्छन् – समान अवसर, समान वितरण

तर यी–

आ-आफ्नो ऐश्वर्यको दृश्य अदृश्य टापु बनाएर बसेका

कुनै कम्युनिस्ट नै होइनन्

कम्युनिस्ट हुनको लागि पहिले त मार्कसिस्ट हुनुपर्छ

त्यसलाई आत्मसात् नै गर्न सक्नुपर्छ

रटी रटाइएका करिब ४० शब्द  भट्ट्याएर

समाजवादको यात्राको गफ छाँटेर

आफूमुखी खेल खेलेर अब कही पुगिँदैन

वर्ग सङ्घर्ष र अन्तर्विरोध कुरा कति गर्ने?

यो नभएको मुलुक धर्तीमा कतै छ?

मुलुकको कुरा छोडौँ

कहीँ कुनै बस्ती छ?

 

यिनले नबुझेको कुरा आफू कहिले पनि निषेध नहुने

रोक्ने र फुक्ने सक्तिबीच अनवरतको द्वन्द्व जतिसुकै भइरहोस्

जुनसुकै तिकडम गरेर भए पनि आफू सर्वेसर्वा नै रहनुपर्ने

भल रोक्न ड्याम बनाउँदै जाने

जति पानी बढ्यो त्यति ड्यामको उचाइ थप्दै जाने

तर यसरी द्वन्द्व समाधान हुने त होइन

अन्ततः फगत विखण्डन मात्र हुने हो।

 

यिनले राम्ररी बुझेको कुरा–

जहाँ जे पाइन्छ चर्न छोड्नु हुँदैन

नत्र जोत्न नसक्ने यी भनेर धपाई दिन्छन्

सपना अझै देखाउन सक्नु पर्छ उपत्यकाको मलिलो माटोको

विचार अचार भइसकेले कसैले पत्याउँदैन

अब त बुन्न सक्नुपर्छ केही दर्जन सहिद बनाउने तरकिब।

 

एक राते मेलामा नै हो अब अग्राख पलाउन सक्ने

हिजो नागरिकता, मन्डी र पानीको विनिमयमा

अब अविश्वास भित्रको हराभरा विश्वास देखाएर

जोगाड खोज्नु पर्छ परको विनिमयमा

ठुलो फड्कामा हिमाल पुर्‍याइदिने

चारवाकको सिद्धान्त अपनाउने ‘क्रान्तिकारी’को लागि

लामो लामो कुरा भट्ट्याउन लागि मात्र हो

विदेशमा एक डलरको छद्मनामी कम्पनी खोलेर

यहीँबाट लुटेर त्यहाँ नगद थुपार्ने हो

देशको शेष र अवशेषसँग के मतलब?

आफू मरेपछि जोसुकै राजा होस्।

 

स्वर्ग-नर्कका–

मिलन-विच्छेद, गमन-प्रत्यागमन

घुमिफेरी रुम्जाटार

यसैमा अनुबन्धित दाम-यात्रा

गफ गर्ने उत्पीडित दूरदराजको

अनवरतको साँचो खोज्ने धुन भर्न आफ्नै दराजको

आधार कार्ड देखाएर खाएको राशन

त्यही रासनप्रदत्त शासनको निरन्तरताको लागि

दाम-यात्रा नर्क-स्वर्गको।