काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूह आगामी राष्ट्रिय भेलाको तयारीमा केन्द्रित भएको छ। समूहले भेलाको व्यवस्थापनका लागि डा. शशांक कोइरालाको नेतृत्वमा ५५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ भने पार्टी एकताका लागि नेतृत्वले लचकता देखाउनुपर्ने धारणा अघि सारेको छ।

शनिबार चूनदेवीस्थित सम्पर्क कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस नेता एनपी साउदले राष्ट्रिय भेला पार्टी विभाजनका लागि नभएको दाबी गरे। उनले वार्ता र संवादमार्फत सहमतिमा पुग्ने सम्भावना अझै कायम रहेकाले वर्तमान नेतृत्वले उदारता देखाउनुपर्ने बताए।

ad

साउदका अनुसार संस्थापन पक्षसँग अनौपचारिक छलफल भइरहे पनि अहिलेसम्म ठोस र परिणाममुखी संवाद हुन सकेको छैन। उनले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले संस्थापन पक्षसमक्ष राखेको प्रस्तावमा समेत औपचारिक प्रतिक्रिया नआएको बताए।

कांग्रेसको पछिल्लो राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै साउदले पार्टीको जनमत र संसदीय उपस्थिति कमजोर भएको अवस्थामा एकता अझ आवश्यक रहेको बताए। उनका अनुसार विगतमा २७ लाख मत पाएको कांग्रेस अहिले १६ लाख मतमा सीमित भएको र प्रतिनिधिसभामा सिट संख्या ८९ बाट घटेर ३८ मा पुगेको अवस्था गम्भीर छ।

उनले निर्वाचन आयोग र अदालतबाट वैधानिकता पाएको नेतृत्वले पार्टीभित्रका सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने धारणा राखे। साउदले संस्थापनइतर समूहको उद्देश्य पार्टीलाई थप बलियो बनाउने रहेको दाबी गर्दै संवादबाट समाधान खोज्नुपर्नेमा जोड दिए।

इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलामा पार्टीको आगामी दिशा, संगठनात्मक सुधार र आन्तरिक विवाद समाधानका विषयमा छलफल गर्ने तयारी गरेको जनाएको छ। भेलासम्म सहमति नजुटे समूहले थप राजनीतिक निर्णय लिन सक्ने संकेतसमेत दिँदै आएको छ।