
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय पपुलिजम, अवसरवाद र अराजकतामा आधारित रहेको दाबी गरेका छन् । उनले रास्वपा जति छिटो राष्ट्रिय राजनीतिमा स्थापित भएको छ, त्यति नै छिटो कमजोर हुने सम्भावना पनि रहेको टिप्पणी गरेका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै पोखरेलले रास्वपा नेपाली राजनीतिमा दीर्घकालीन चुनौती बन्ने शक्ति नभएको बताए । उनले यस्ता शक्तिको सामना गर्न एमालेले आफ्नो वैचारिक आधार र संगठनलाई थप सुदृढ बनाउनुपर्ने धारणा राखे ।
‘जुन शक्ति जति छिटो उदय हुन्छ, त्यसको पतनको सम्भावना पनि त्यति नै बढी हुन्छ,’ पोखरेलले भने, ‘त्यसैले त्यसलाई सामना गर्न हामी आफैँ वैचारिक र सांगठनिक रूपमा तयार हुनुपर्छ ।’
उनले एमालेबाट टाढिएको नयाँ पुस्ता, आधारभूत वर्ग र मध्यम वर्गको विश्वास पुनः जित्नुपर्ने आवश्यकता औँल्याए । समाजका विभिन्न समुदाय, भाषा र संस्कृतिसँग जोडिने गरी पार्टीको नीति, कार्यशैली र संगठनात्मक संरचनामा सुधार आवश्यक रहेको उनको भनाइ थियो ।
निर्वाचन परिणामपछि पार्टी पंक्तिमा केही निराशा देखिएको स्वीकार गर्दै पोखरेलले कार्यकर्तामा नयाँ उत्साह र आत्मविश्वास पैदा गर्नुपर्ने बताए । उनले जनताको विश्वास जित्नका लागि पहिले पार्टीभित्र देखिएका प्रश्न, अन्योल र गुनासाको समाधान खोज्नुपर्ने धारणा राखे ।
‘मनभरि प्रश्न, अन्योल र गुनासा बोकेर जनताको विश्वास जित्न सकिँदैन,’ उनले भने, ‘पहिले आफ्ना द्विविधा हटाएर आत्मविश्वासका साथ जनतामाझ जान सक्नुपर्छ ।’
महासचिव पोखरेलले पार्टीलाई संस्थागत प्रक्रियामार्फत सुधार र पुनर्गठन गर्दै थप बलियो बनाउने दाबी गरे । उनले एमालेभित्र कुनै प्रकारको संकट वा विभाजनको अवस्था नरहेको पनि स्पष्ट पारे ।
भ्रष्टाचार आरोप प्रमाणित गर्न चुनौती
यसैबीच पोखरेलले एमाले र पार्टी नेतृत्वमाथि लगाइएका भ्रष्टाचारका आरोप प्रमाणित गर्न सरकारलाई चुनौती दिएका छन् । उनले राजनीतिक प्रतिशोधका आधारमा एमालेमाथि आरोप लगाउने काम भइरहेको दाबी गरे ।
यती होल्डिङ्स, ओम्नी र गिरिबन्धु टी–स्टेटलगायतका विषयमा एमाले नेतृत्वलाई अनावश्यक रूपमा जोडिएको उनको भनाइ थियो । आर्थिक लेनदेन नभएको विषयलाई भ्रष्टाचारसँग जोड्न नमिल्ने उनले बताए ।
‘जहाँ आर्थिक कारोबार नै भएको छैन, त्यहाँ भ्रष्टाचारको आरोप कसरी लाग्छ ?’ उनले प्रश्न गर्दै भने, ‘यदि प्रमाण छन् भने सरकारले कानुनी प्रक्रियाबाट पुष्टि गर्न सक्नुपर्छ ।’
उनले कतिपय विषयमा नीतिगत निर्णय मात्र भएको र कतिपय विषयमा प्रक्रिया सुरु भएको अवस्थालाई लिएर पार्टीलाई बदनाम गर्ने प्रयास भएको दाबी गरे ।
पोखरेलले राजनीतिक आरोपकै आधारमा एमाले अध्यक्ष र उपाध्यक्ष विष्णु पौडेलमाथि दुःख दिने काम भएको पनि बताए । प्रमाण नभएकै कारण मुद्दा अघि बढ्न नसकेको उनको दाबी थियो ।
उनले एमालेका नेता तथा कार्यकर्ता सुशासनको पक्षमा उभिन तयार रहेको बताए । नेपालका राजनीतिक दलमध्ये एमालेमा सबैभन्दा धेरै इमानदार नेता र कार्यकर्ता रहेको दाबी गर्दै उनले पार्टीको स्वच्छ छवि लिएर जनतामाझ जान कार्यकर्तालाई आग्रह गरे ।









Facebook Comments