काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाहलाई अनुभवी राजनीतिक नेतृत्व र बुद्धिजीवीहरूसँग नियमित संवाद गर्न आग्रह गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले मुलुकले विगतमा विभिन्न जटिल चुनौतीहरू सामना गरेको स्मरण गराउँदै ती अनुभवबाट वर्तमान सरकारले लाभ लिनुपर्ने धारणा व्यक्त गरे। अनुभवी नेता तथा बुद्धिजीवीहरूसँग संवाद नगर्नुको कारणबारे प्रश्न उठाउँदै उनले नेतृत्वमा दम्भ र अहंकारले स्थान पाए मुलुक सञ्चालन कठिन हुने टिप्पणी गरे।

ad

भ्रष्टाचार नियन्त्रणको प्रसंग उल्लेख गर्दै प्रचण्डले पुराना नेतृत्वसँग प्रश्न गर्न र अनुभव साटासाट गर्न सरकार खुला हुनुपर्ने बताए। आफूहरूमाथि पनि भ्रष्टाचार नियन्त्रणका विषयमा प्रश्न उठाउन सकिने उल्लेख गर्दै उनले त्यस्ता प्रश्नको जवाफ दिन तयार रहेको बताए। संवादको सट्टा दूरी कायम गर्नु उचित नहुने उनको भनाइ थियो।

उनले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रमा राजनीतिक संघर्ष र राज्य सञ्चालनको अनुभव भएका नेताहरू रहेको उल्लेख गर्दै उनीहरूको अनुभवलाई उपयोग गर्न सरकारलाई सुझाव दिए। प्रतिपक्षसँगको संवाद कमजोर बनाउँदै जाने र उसको भूमिकालाई बेवास्ता गर्ने प्रवृत्तिले मुलुकलाई थप जटिल परिस्थितितर्फ धकेल्न सक्ने चेतावनी पनि उनले दिए।

प्रचण्डले लोकतान्त्रिक व्यवस्थामा सरकार र प्रतिपक्षबीच निरन्तर संवाद, सहकार्य र विचार आदानप्रदान आवश्यक रहेको उल्लेख गर्दै राष्ट्रिय हितका विषयमा सबै पक्षबीच सहमति र सहकार्यको वातावरण निर्माण गर्न सरकारलाई आग्रह गरे।