
काठमाडौं। नेपाली कांग्रेसको संस्थापनइतर समूहले साउन २९ गतेका लागि तय गरिएको राष्ट्रिय भेलाको तयारीलाई तीव्र बनाएको छ। चुनदेवीस्थित सम्पर्क कार्यालयमा नियमित बैठक गर्दै भेला सफल बनाउन १० वटा विभिन्न समिति गठन गरिएको प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माले जानकारी दिए।
यद्यपि, संस्थापनइतर पक्षले आफूहरू अलग्गै बाटोमा अघि बढ्नेभन्दा पनि पार्टीभित्रै सहमति र एकताको वातावरण बन्नुपर्ने पक्षमा रहेको स्पष्ट गरेको छ। नेता विश्वकर्माले पछिल्ला दिनमा दुवै पक्षबीच औपचारिक संवाद नभए पनि अन्ततः सबैको चाहना पार्टीको मूल संरचनामै फर्किने रहेको बताए। उनका अनुसार सभापति गगनकुमार थापाको पहलमा सहमतिको वातावरण निर्माण हुने अपेक्षा गरिएको छ।
सहमहामन्त्री योगेन्द्र चौधरीले पनि कांग्रेस विभाजन नभई विचारमा मात्र मतभेद रहेको बताए। उनले विगतमा पनि यस्ता मतभेद समाधान हुँदै आएको उल्लेख गर्दै अहिले पनि एकताका लागि विभिन्न तहमा पहल सुरु भइसकेको बताए।
संस्थापनइतर पक्षले राष्ट्रिय कार्यकर्ता भेला घोषणा गरेसँगै नेतृत्वमाथि सहमतिको वातावरण बनाउन दबाब बढ्दै गएको छ। यसैबीच मध्यमार्गी नेता डा. शेखर कोइरालाले पनि एकतालाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै चार सदस्यीय कार्यदल गठनको प्रस्ताव गरेका छन्। सभापति थापाले उक्त प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया जनाएको कोइराला निकट स्रोतले जनाएको छ।
पार्टीभित्रको विवाद समाधानका लागि स्थानीय तहका जनप्रतिनिधिहरू पनि सक्रिय बनेका छन्। कांग्रेसबाट निर्वाचित नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यहरूको राष्ट्रिय भेला आयोजना गरी नेतृत्वलाई एकताका लागि दबाब दिने तयारी गरिएको छ। नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाका अनुसार यो अभियानले पार्टीभित्र सहमतिको वातावरण बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
यता, राष्ट्रिय भेलाको तयारीलाई व्यवस्थित बनाउन गठन गरिएका १० समितिले विद्यार्थी, महिला, दलित, किसान, आदिवासी जनजाति, प्रवास, खेलकुद, बुद्धिजीवी, ट्रेड युनियनलगायत विभिन्न क्षेत्रका अगुवासँग समन्वय गर्ने जिम्मेवारी पाएका छन्। ती समितिबाट प्राप्त सुझावका आधारमा भेला वैचारिक, नीतिगत तथा संगठनात्मक सुधारका विषयमा केन्द्रित हुने जनाइएको छ।
संस्थापनइतर पक्षले बीपी जयन्तीको अवसर पारेर घोषणा गरेको राष्ट्रिय भेला पार्टीभित्र आन्तरिक लोकतन्त्र सुदृढ गर्ने, नीतिगत सुधारका विषयमा छलफल गर्ने र आगामी राजनीतिक कार्यदिशा तय गर्ने उद्देश्यसहित आयोजना गर्न लागेको जनाएको छ। पार्टीभित्र मतभेद कायम रहे पनि अधिकांश नेताहरूले अन्तिम निष्कर्ष एकतामै पुग्ने विश्वास व्यक्त गरेका छन्।









Facebook Comments