
काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीचको झडप र त्यसपछिको अप्रिय स्थितिबारे छानबिन गर्न सरकारले पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ।
झडप नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर एक व्यक्तिको मृत्यु भएपछि उत्पन्न गम्भीर परिस्थिति अध्ययन गर्न गृह मन्त्रालयले यो कदम चालेको हो।
गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा गठित ५ सदस्यीय समितिले घटनाको सम्पूर्ण पाटोबाट सुक्ष्म अध्ययन गरी सत्यतथ्य बाहिर ल्याउने जिम्मेवारी पाएको छ। मन्त्रालयले यस समितिलाई प्रतिवेदन बुझाउन एक हप्ताको समयसीमा तोकेको छ।
कप्तानगन्जमा स्थानीय दुई समूहबीच आपसी विवाद उत्पन्न भई स्थिति नियन्त्रण बाहिर जान लागेपछि सुरक्षाकर्मीले हस्तक्षेप गर्नुपरेको थियो। सोही क्रममा स्थिति नियन्त्रणमा लिने उद्देश्यले चलाइएको गोली लागेर एक जनाको ज्यान गएको छ। घटनाले उग्र रूप लिएपछि स्थानीय प्रशासनले थप हिंसा र झडप रोक्न तत्कालै क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।
घटनालगत्तै गृहमन्त्री सुधन गुरुङले मन्त्रालयमा सुरक्षा निकायका शीर्ष अधिकारीहरूसँग आकस्मिक छलफल गरेका थिए। उक्त महत्त्वपूर्ण बैठकमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका आईजीपी न नारायणदत्त पौडेल लगायतका उच्च सुरक्षा अधिकारीहरूको उपस्थिति रहेको थियो।
सोही उच्चस्तरीय छलफलको निष्कर्षस्वरूप घटनाको निष्पक्ष छानबिन गर्न छानबिन समिति गठन गरिएको हो भने, थप सुरक्षा रणनीतिका बारेमा छलफल गर्न आजै साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक समेत बोलाइएको छ।










Facebook Comments