काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएपछि सेयर बजारमा दोस्रो पटक गिरावट आएको छ। गत साताको अन्तिम दुई कारोबार दिन लगातार उकालो लागेको बजार साताको पहिलो कारोबार दिन सोमबार भने ३३.२८ अंकले घट्दै २,७०१.५३ विन्दुमा बन्द भएको छ।

कारोबारका क्रममा नेप्से सूचक २,६९३ विन्दुसम्म झरे पनि अन्तिम समयमा केही सुधार हुँदै २,७०१ विन्दुमा रोकिएको हो। दिनभर ६ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा १.२१ प्रतिशतको गिरावट आएको छ।

ad

गत आर्थिक वर्षको अन्तिम तीन कारोबार दिनदेखि बढ्न थालेको बजारले नयाँ आर्थिक वर्षमा पनि सकारात्मक लय कायम राखेको थियो। तर सोमबारको गिरावटसँगै बजारले अब करेक्सनको चरणमा प्रवेश गरेको हो कि पुनः ओरालो यात्रा सुरु भएको हो भन्ने चर्चा लगानीकर्ता माझ बढेको छ।

सेयर लगानीकर्ता छोटेलाल रौनियारले सोमबारको गिरावटलाई स्वाभाविक करेक्सनका रूपमा व्याख्या गरे। लगातार बजार बढेपछि केही नाफा सुरक्षित गर्ने प्रवृत्तिका कारण यस्तो गिरावट देखिनु अस्वाभाविक नभएको उनको भनाइ छ।

उनका अनुसार सरकारले पुँजी बजार सुधारका लागि प्रतिबद्धता व्यक्त गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन अझै हुन सकेको छैन। यही कारण लगानीकर्ताको मनोबल पूर्ण रूपमा बढ्न नसकेको र बजारमा मागभन्दा आपूर्ति बढी देखिएको उनले बताए।

रौनियारले पुँजी बजारलाई दीर्घकालीन रूपमा चलायमान बनाउन नीतिगत सुधार आवश्यक रहेको उल्लेख गर्दै सरकारले पुँजीगत लाभकर (क्यापिटल गेन ट्याक्स) बढाउनेभन्दा लगानीमैत्री नीति अवलम्बन गर्नुपर्ने धारणा राखे।

अर्का लगानीकर्ता जगन्नाथ ढंगेलले पनि सोमबारको गिरावटलाई करेक्सनकै रूपमा लिनुपर्ने बताए। उनका अनुसार पछिल्ला दुई सातादेखि बजार उल्लेख्य रूपमा बढेकाले केही अंकको गिरावट स्वाभाविक हो। लगातार अर्को दिन पनि बजार ओरालो लागे मात्र नयाँ गिरावटको प्रवृत्ति सुरु भएको निष्कर्ष निकाल्न सकिने उनले बताए।

यसैबीच, सोमबारको गिरावट पछिल्ला ५३ कारोबारयताकै ठूलो भएको छ। यसअघि वैशाख २९ गते नेप्से ३९.४४ अंकले घटेको थियो।

लगानीकर्ता नानीबाबु खरेलले भने बजारमा देखिएको दबाबको एउटा कारण अर्थतन्त्र र सरकारी नीतिप्रति लगानीकर्ताको आशंका रहेको बताए। अर्थमन्त्रीका सार्वजनिक अभिव्यक्ति र आगामी नीतिगत निर्णयप्रति लगानीकर्ताले चासोपूर्वक हेरिरहेका कारण पनि बजारमा मनोवैज्ञानिक दबाब देखिएको उनको भनाइ छ।

विश्लेषकहरूका अनुसार आगामी केही कारोबार दिनको प्रवृत्तिले अहिलेको गिरावट सामान्य करेक्सनमा सीमित हुन्छ वा बजारले नयाँ दिशा समात्छ भन्ने स्पष्ट हुने अपेक्षा गरिएको छ।