काठमाडौं । देशकै पहिलो आधुनिक सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुंगा सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन हुँदैछ। काठमाडौँ र धादिङ जोड्ने यो बहुप्रतीक्षित पूर्वाधार उद्घाटन भएलगत्तै भने सर्वसाधारणका सबै सवारीसाधनका लागि खुला नहुने भएको छ।

आयोजना प्रमुख सौजन्य नेपालका अनुसार सुरुङमार्गलाई सुरक्षित र व्यवस्थित रूपमा सञ्चालनमा ल्याउन पहिलो चरणमा एम्बुलेन्स, सुरक्षा निकाय तथा अन्य अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्र प्रवेश दिइनेछ।

ad

उनले सीमित संख्यामा सवारी सञ्चालन गरेर सुरुङभित्रको सुरक्षा अवस्था, ट्राफिक व्यवस्थापन तथा प्राविधिक पक्षको परीक्षण गरिने जानकारी दिए। सबै सवारीसाधनलाई एकैपटक सञ्चालनमा ल्याउँदा व्यवस्थापनमा चुनौती आउन सक्ने भएकाले चरणबद्ध रूपमा सेवा विस्तार गर्ने रणनीति अपनाइएको उनको भनाइ छ।

उनका अनुसार परीक्षण अवधि करिब एक सातादेखि १० दिनसम्म रहने अनुमान गरिएको छ। यद्यपि आवश्यक प्राविधिक परीक्षण र सुरक्षा मूल्याङ्कन अपेक्षाभन्दा छिट्टै पूरा भए अन्य सवारीसाधनलाई पनि समयअघि नै सञ्चालन अनुमति दिन सकिनेछ।

परीक्षण अवधिमा सुरुङमार्ग प्रयोग गर्ने आपतकालीन सवारीसाधनबाट कुनै पनि प्रकारको टोल शुल्क नलिइने आयोजना कार्यालयले जनाएको छ।

परीक्षण सफल भएपछि सर्वसाधारणका सवारीसाधनलाई क्रमशः सुरुङमार्ग प्रयोग गर्न दिइनेछ। प्रारम्भमा साना सवारीसाधनलाई एकतर्फी रूपमा सञ्चालन गर्ने र त्यसपछि बस तथा अन्य ठूला सार्वजनिक सवारीसाधनलाई अनुमति दिने तयारी रहेको छ।

आयोजना प्रमुख नेपालका अनुसार सुरुङमार्गको निर्माण तथा आवश्यक पूर्वाधारका सबै काम पूरा भइसकेका छन्। पहिलोपटक सञ्चालनमा ल्याइएकाले सम्भावित प्राविधिक समस्या तत्काल समाधान गर्न र यात्रुको सुरक्षालाई सुनिश्चित गर्न चरणबद्ध सञ्चालनको नीति अपनाइएको उनले बताए।

यसैबीच सरकारले नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि टोल शुल्कसमेत निर्धारण गरिसकेको छ। राजपत्रमा प्रकाशित सूचनाअनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौँ प्रवेश गर्दा रु ६५ र बाहिरिँदा रु ६० तिर्नुपर्नेछ।

त्यस्तै मिनीबस, मिनी ट्रक तथा मिनी टिपरले प्रवेश गर्दा रु ११५ र बाहिरिँदा रु ८० तिर्नुपर्नेछ। सिङ्गल रियर एक्सल भएका बस तथा ट्रकका लागि प्रवेश शुल्क रु २६० र बाहिरिने शुल्क रु २०० निर्धारण गरिएको छ। मल्टी एक्सल ट्रक तथा भारी उपकरणका लागि प्रवेश गर्दा रु ६०० र बाहिरिँदा रु २५० टोल शुल्क तोकिएको छ।