त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भरमा प्राविधिक समस्या आउँदा शुक्रबार बिहान अन्तर्राष्ट्रिय उडान र अवतरण प्रभावित बनेका छन्। बिहान ६ बजेदेखि झन्डै दुई घण्टासम्म अध्यागमनको प्रणाली पूर्ण रूपमा ठप्प हुँदा विदेश जाने र नेपाल भित्रिने सयौँ यात्रुले निकै सास्ती व्यहोर्नुपरेको छ। बायोमेट्रिक्समा आधारित 'नेपाली पोर्ट' नामक सफ्टवेयरमा समस्या आएपछि विमानस्थलमा केही बेर अन्योलको स्थिति सिर्जना भएको थियो।

सर्भरमा आएको खराबी करिब एक घण्टासम्म पनि पहिल्याउन नसकेपछि अध्यागमन कार्यालयले हातैले अभिलेख राखेर (म्यानुअल्ली) प्रस्थान अनुमति दिएको थियो। यद्यपि विभिन्न देशबाट अवतरण गरेका यात्रुहरूलाई भने सर्भर नखुलेसम्म आगमन अनुमति नदिई होल्डमा राखिएको थियो। अनपेक्षित रूपमा सर्भर डाउन भएपछि विमानस्थल पुगेका यात्रुहरू अलपत्र पर्नुका साथै केही अन्तर्राष्ट्रिय उडानहरू समेत तोकिएको समयभन्दा ढिला गरी उडेका थिए।

ad

अध्यागमन कार्यालयकी प्रमुख सिर्जना थपलियाका अनुसार सर्भर डाउन भएपछि यात्रुहरूको रेकर्ड कागजी रूपमा राखेर प्रस्थान अनुमति दिइएको र पछि प्रणाली सञ्चालनमा आएपछि ती सबै विवरण इन्ट्री गरिएको छ। आगमनमा रहेका यात्रुहरूलाई वस्तुस्थिति बुझाएर केही समय पर्खाएको र सर्भर चालु भएपछि मात्रै नेपाल प्रवेशको अनुमति दिइएको उनले प्रस्ट पारिन्।

कार्यालय प्रमुख थपलियाले यति ठूलो र गम्भीर समस्या पाँच वर्षपछि मात्रै देखिएको दाबी गरे पनि त्रिभुवन विमानस्थलको अध्यागमन सर्भरमा बेलाबेलामा यस्ता समस्या दोहोरिने गरेका छन्। यसअघि २०८० साउन १२ गते पनि अध्यागमनको सर्भरमा यस्तै गम्भीर खराबी आउँदा कर्मचारीहरूले हस्तलिखित अभिलेखका आधारमा यात्रु आवतजावत गराएका थिए। बारम्बार दोहोरिने यस्ता प्राविधिक समस्याले अन्तर्राष्ट्रिय मञ्चमा विमानस्थलको व्यवस्थापनमाथि प्रश्न उठाउने गरेको छ।