चितवनस्थित लटौली सेन्चुरी रिसोर्टमा पाहुनासम्बन्धी गोप्य सूचना बाहिरिएको विषयलाई लिएर आन्तरिक विवाद उत्पन्न भएपछि जनरल म्यानेजरसहित चार जना कर्मचारीले रिसोर्ट छाडेको जनाइएको छ।

स्रोतका अनुसार रिसोर्ट सञ्चालक ज्ञानेन्द्र खड्काले गोप्य जानकारी बाहिरिएको भन्दै व्यवस्थापन तहका कर्मचारीसँग असन्तुष्टि जनाएपछि विवाद चर्किएको हो। त्यसक्रममा जनरल म्यानेजर रोशन पुरीसहित चारजना कर्मचारीले जिम्मेवारीबाट बाहिरिएको बताइएको छ।

ad

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका बेला काठमाडौं प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह परिवारसहित तीन दिन उक्त रिसोर्टमा बसेका थिए। सो अवधिमा १६ वटा कोठा बुक गरिएको, केही कर्मचारीलाई बिदा दिइएको तथा केही समयका लागि सीसीटीभी प्रणाली बन्द गरिएको भन्ने विवरण सार्वजनिक भएपछि त्यसबारे व्यवस्थापनभित्र थप चासो र छलफल भएको स्रोतको भनाइ छ।

रिसोर्टसँग निकट एक स्रोतका अनुसार सञ्चालक र व्यवस्थापनबीच सूचना व्यवस्थापन तथा आन्तरिक कार्यशैलीलाई लिएर लामो समयदेखि मतभेद रहँदै आएको थियो। पछिल्लो घटनापछि उक्त विवाद थप गहिरिएको बताइएको छ।

यद्यपि, रिसोर्ट व्यवस्थापनले कर्मचारी बाहिरिएको कारणबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन। साथै, सार्वजनिक रूपमा आएका दाबीहरूबारे स्वतन्त्र पुष्टि हुन बाँकी रहेको छ।