
राप्रपाकी सांसद खुश्बु ओलीलाई सामाजिक सञ्जालमार्फत धम्की दिएको तथा मानहानि हुने सामग्री प्रकाशन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवनको भरतपुर–१६ निवासी तेजेन्द्रप्रसाद पौडेल र बुटवल स्थायी घर भई नारायणगढमा व्यवसाय गर्दै आएका अभि घिमिरे रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुवै जनामाथि फेसबुकमार्फत सांसद ओलीलाई लक्षित गरी धम्कीपूर्ण र चरित्रहत्या गर्ने उद्देश्यका सामग्री पोस्ट गरेको आरोपमा साइबर अपराधसम्बन्धी अनुसन्धान अघि बढाइएको छ।
प्रहरी स्रोतका अनुसार पक्राउ परेका तेजेन्द्रप्रसाद पौडेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सदस्य हुन्। तर उनी पार्टीको कुनै औपचारिक संगठनात्मक जिम्मेवारीमा नरहेको जिल्ला तहका पार्टी स्रोतले जनाएको छ।
चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार सांसद ओलीको उजुरीपछि नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान गर्दै आरोपितहरूको पहिचान गरेको थियो। त्यसपछि प्राप्त सूचनाका आधारमा चितवन प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको हो।
शनिबार सार्वजनिक बिदा परेकाले अदालतबाट म्याद थप गर्न नसकिएको प्रहरीले जनाएको छ। यस कारण पक्राउ परेकाहरूको विस्तृत विवरण औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।
प्रहरीका अनुसार सोमबार अदालतबाट म्याद थप गरी साइबर अपराधसम्बन्धी मुद्दाको अनुसन्धान चितवनबाटै अघि बढाइनेछ। प्रचलित कानुनी व्यवस्थाअनुसार साइबर अपराधसम्बन्धी उजुरी जहाँ दर्ता भए पनि अनुसन्धान तथा कानुनी प्रक्रिया आवश्यकताअनुसार जुनसुकै प्रहरी कार्यालयबाट सञ्चालन गर्न सकिने व्यवस्था रहेको छ।









Facebook Comments