
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्तालाई सरकारका हरेक गतिविधिमाथि निरन्तर निगरानी र खबरदारी गर्न निर्देशन दिएका छन्। सरकारबाट जनहितविपरीत वा कमजोरीपूर्ण निर्णय भए त्यसलाई समयमै सच्याउन पहल गर्न आग्रह गर्दै उनले सुधार नभए पार्टीले अभिभावकीय भूमिका निर्वाह गर्ने बताएका छन्।
शुक्रबार रौतहटका पार्टी नेता तथा कार्यकर्तासँगको छलफलमा लामिछानेले सरकारको नियतमाथि अनावश्यक शंका नगर्न आग्रह गर्दै सरकारका निर्णयहरूको उद्देश्य जनताको हित नै रहेको बताए। उनले राम्रो नियतका साथ निर्णय गर्दा पनि कार्यान्वयनका क्रममा केही कमजोरी आउन सक्ने स्वीकार गर्दै आवश्यक परे त्यस्ता निर्णय संशोधन गर्न सरकार तयार रहने स्पष्ट पारे।
उनले जनतालाई लाभभन्दा हानि पुग्ने देखिएका नीति तथा निर्णयलाई परिवर्तन गर्न कुनै हिच्किचाहट नरहने उल्लेख गरे। "निर्णयमा त्रुटि हुन सक्छ, त्यसलाई सच्याउन सकिन्छ। तर नियत खराब हुनु हुँदैन," उनले भने।
लामिछानेका अनुसार सुरुमा विवादित देखिएका कतिपय सरकारी निर्णय समयक्रममा सही सावित भएका उदाहरण पनि छन्। त्यसैले निर्णयको उद्देश्य र दीर्घकालीन प्रभावलाई हेरेर मूल्यांकन गर्नुपर्ने उनको धारणा थियो।
उनले किसान, मजदुर, गरिब तथा विपन्न वर्गलाई असर पर्ने गरी कुनै नीति लागू भएको पाइए त्यसको पुनरावलोकन गरी आवश्यक संशोधन गरिने पनि बताए।
सभापति लामिछानेले पार्टीका नेता तथा कार्यकर्तालाई मन्त्रालय र मन्त्रीहरूको कामकारबाहीमाथि पनि नियमित निगरानी राख्न आग्रह गरे। सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदा पनि सुधार नभए पार्टी नेतृत्वले आवश्यक हस्तक्षेप गर्ने स्पष्ट पार्दै उनले पार्टी आफ्ना नेता तथा कार्यकर्ताको मात्र नभई सरकारको पनि अभिभावकका रूपमा जिम्मेवारी निर्वाह गर्न तयार रहेको बताए। उनले आवश्यक निर्णय लिन पार्टी पछि नहट्ने पनि उल्लेख गरे।









Facebook Comments