
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारले जनतामा विश्वास जगाउन नसक्दा देशमा निराशा बढ्दै गएको बताएका छन्। सरकार नागरिकका अपेक्षा पूरा गर्न असफल हुँदा सामाजिक र आर्थिक असन्तुष्टि गहिरिँदै गएको तथा त्यसले मुलुकलाई पुनः द्वन्द्वतर्फ धकेल्ने जोखिम बढाएको उनको भनाइ छ।
शनिबार काठमाडौंमा आयोजित उज्यालो नेपाल पार्टीको खाँडादेवी–काठमाडौं सम्पर्क मञ्चको प्रथम भेलालाई सम्बोधन गर्दै घिसिङले आम नागरिक मात्र नभई उद्योगी–व्यवसायीसमेत भविष्यप्रति आश्वस्त हुन नसकेको बताए। पछिल्ला महिनाहरूमा व्यापारी र युवाले आत्मदाह गर्नुपरेको घटनालाई उल्लेख गर्दै उनले त्यसको नैतिक जिम्मेवारीबाट सरकार पूर्ण रूपमा उम्किन नसक्ने टिप्पणी गरे।
दुईतिहाइको जनसमर्थन प्राप्त सरकारले नागरिकका आशा, आकांक्षा र माग सम्बोधन गर्नुपर्ने भए पनि त्यसतर्फ प्रभावकारी काम हुन नसकेको उनको आरोप थियो। सरकारले जनविश्वास पुनः स्थापित गर्न नसके मुलुकमा थप अस्थिरता र द्वन्द्व निम्तिने खतरा रहेको उनले बताए। यद्यपि आफ्नो चाहना वर्तमान सरकार पाँच वर्षसम्म टिकेर काम गरोस् भन्ने भए पनि हालसम्मको कार्यशैलीले त्यो सम्भावना कमजोर देखिएको उनको भनाइ थियो।
घिसिङले उज्यालो नेपाल पार्टी कुनै क्षणिक राजनीतिक लाभ वा ‘स्टन्ट’का लागि स्थापित नभएको उल्लेख गर्दै दीर्घकालीन राजनीतिक विकल्पका रूपमा अघि बढ्ने बताए। उनले विगतमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग गरिएको एकीकरणलाई आफ्नो पार्टीको ठूलो राजनीतिक भूल स्वीकार गर्दै भविष्यमा कुनै पनि दलसँग पार्टीको अस्तित्व समाप्त हुने गरी एकीकरण नगर्ने स्पष्ट पारे।
संगठन विस्तारलाई प्राथमिकतामा राख्दै उनले वर्षायामपछि देशव्यापी तीन महिने अभियान सञ्चालन गरिने जानकारी दिए। अभियानअन्तर्गत आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्य राखिएको उनले बताए। डिजिटल सदस्यता प्रणालीसँगै गाउँ–गाउँ र प्रत्येक पालिकामा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्ने तथा स्थानीय समस्या बुझ्ने कार्यक्रम सञ्चालन गरिने उनको भनाइ थियो।
घिसिङले उज्यालो नेपाल पार्टीलाई जिम्मेवार, अनुभवी र जनविश्वास प्राप्त राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य रहेको उल्लेख गर्दै आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा उल्लेखनीय सफलता हासिल गर्ने दाबी गरे। त्यसपछि हुने संघीय निर्वाचनमा पनि जनताको मुख्य रोजाइ आफ्नो पार्टी बन्ने विश्वास उनले व्यक्त गरे।
कार्यकर्तालाई संगठन विस्तारमा सक्रिय हुन आग्रह गर्दै उनले आवश्यक परे आफू एक्लैले भए पनि पार्टीलाई अघि बढाउने प्रतिबद्धता जनाए।









Facebook Comments