
काठमाडौं — आर्थिक वर्ष २०८२/८३ मा नेपालले ५८ अर्ब रुपैयाँभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त गरेको छ। उद्योग विभागको तथ्यांकअनुसार यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा कम हो। गत आर्थिक वर्ष २०८१/८२ मा करिब ६५ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो।
विभागका अनुसार समीक्षा अवधिमा कुल एक हजार १ सय १६ उद्योग दर्ता भएका छन्। तीमध्ये एक हजार ६८ उद्योग अटोमेटिक रुटमार्फत र बाँकी उद्योग स्वीकृति (अप्रुभल) रुटबाट दर्ता भएका हुन्।
लगानी प्रतिबद्धतामध्ये ४८ अर्ब ४१ करोड रुपैयाँ अप्रुभल रुटबाट तथा ९ अर्ब ५८ करोड रुपैयाँ अटोमेटिक रुटमार्फत आएको विभागले जनाएको छ।
आर्थिक वर्षको अन्तिम महिना असारमा मात्रै १० अर्ब ३८ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएपछि वार्षिक कुल प्रतिबद्धता उल्लेखनीय रूपमा बढेको हो। चालु आर्थिक वर्षको सुरुआती महिना साउनमा पनि करिब २० अर्ब रुपैयाँ बराबरको प्रतिबद्धता आएको थियो। तर साउन, फागुन र असारबाहेक अन्य महिनामा लगानी प्रतिबद्धताको दर अपेक्षाकृत न्यून रहेको विभागको तथ्यांकले देखाएको छ।
उद्योगको आकारका आधारमा हेर्दा आर्थिक वर्षभर १२ ठूला र १२ मझौला उद्योग दर्ता भएका छन्। बाँकी एक हजार ९२ उद्योग साना प्रकृतिका रहेका छन्। असार महिनामा मात्रै २ सय २ उद्योग दर्ता हुँदा तीन ठूला, एक मझौला र बाँकी साना उद्योग रहेका थिए।
क्षेत्रगत रूपमा सूचना प्रविधि (आईटी) क्षेत्र सबैभन्दा धेरै आकर्षक बनेको छ। यस अवधिमा ७ सय २७ सूचना प्रविधिसम्बन्धी उद्योग दर्ता भएका छन्, जसमा २ अर्ब ८३ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ।
पर्यटन क्षेत्रमा २ सय २७ उद्योग दर्ता भई १३ अर्ब ९९ करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता प्राप्त भएको छ। सेवा क्षेत्रमा ७१ उद्योग दर्ता हुँदा ४ अर्ब ९१ करोड रुपैयाँ प्रतिबद्धता आएको विभागले जनाएको छ।
कृषि क्षेत्रमा भने उद्योगको संख्या कम भए पनि लगानी प्रतिबद्धता सबैभन्दा बढी देखिएको छ। १८ कृषि उद्योग दर्ता हुँदा २३ अर्ब १८ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ। उत्पादनमूलक क्षेत्रमा ६३ उद्योग दर्ता भएका छन् भने यस क्षेत्रमा ३ अर्ब ९१ करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता प्राप्त भएको तथ्यांकले देखाएको छ।











Facebook Comments