
काठमाडौं । पार्टीभित्र नेतृत्व पुस्तान्तरण र हस्तान्तरणको चर्को बहस चलिरहेका बेलामा यसलाई विषयान्तर गर्न एकताको कार्ड फ्याँक्न खोजिए पनि फेरि वाम एकता यता न उता भएको छ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालसहित शीर्ष नेतृत्वले केही दिनअघि वाम एकताका लागि छलफल अघि बढाएको चर्चा राजनीतिक वृत्तमा चले पनि अन्ततोगत्वा फेरि भाँडिएको छ । गत असार १४ गते एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई साक्षी राखेर ओली, प्रचण्डसहित नेपाल र खनाल एउटै मञ्चमा देखिएपछि पार्टी एकता हुन लागेको आँकलन गर्दै एकताका लागि संवाद भइरहेको चर्चा चुलिएकोे थियो । कार्यक्रममा सम्बोधन गर्दै नेताहरूले आगामी दिनमा सहकार्य गर्दै एकतासम्म पुग्न सकिने आशय व्यक्त गरेका थिए । प्रतिनिधिसभा चुनावमा ठूलो धक्का खाएपछि पार्टीमा नेतृत्व हस्तान्तरणको आवाज बढ्न थालेपछि ओली र प्रचण्ड एकता गर्न सकारात्मक देखिए पनि निर्वाचनको समीक्षा र पार्टी पुनर्गठनको एजेन्डालाई ओझेलमा पार्न वाम एकताको असान्दर्भिक चर्चा चलाएको भन्दै एमालेकै महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा लेखेका थिए ।
आफ्नै पार्टीभित्र एकताको कुराले चर्को आलोचना भएपछि एमाले अध्यक्ष ओली र नेकपाका संयोजक प्रचण्डले पार्टी पंक्तिमा तत्काल एकता नहुने स्पष्ट पारे । नेकपाको सोमबार बसेको केन्द्रीय समितिको भर्चुअल बैठकमा प्रचण्डले आफूले अहिले नै एकता हुनुपर्छ भनेर कहीँ कतै नभनेको प्रस्टीकरण नै दिनुपरेको थियो । यस्तै, मंगलबार एमालेका अध्यक्ष ओलीले पनि राजधानी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रमलाई पार्टीको केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै एकताको भ्रममा नपर्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका थिए । उनले एकताका लागि पवित्रता चाहिने भन्दै विगतमा त्यो नदेखिएको स्मरणसमेत गरे । उनले अपहरित लोकतन्त्रलाई फर्काउन संयुक्त संघर्ष भने जरुरी रहेको धारणा राखे । यसरी एमाले र नेकपाका शीर्ष नेताहरूको भनाइले वाम एकताको लागि संवाद भइरहेको भन्ने चर्चालाई खारेज गरिदिएको छ ।










Facebook Comments