
काठमाडौं । विशेष महाधिवेशनबाट किनारामा पुगेको नेपाली कांग्रेसको इतरपक्षले अहिले पार्टीलाई सहज रूपमा १५औँ महाधिवेशनको अभियानमा होम्नुपर्नेमा आन्तरिक किचलो निकाल्दै बार्गेनिङ गर्न थालेपछि नेपाली कांग्रेसभित्रको विवाद अझै मिल्न सकेको छैन । पुसमा भएको विशेष महाधिवेशनबाट सभापति भएपछि गगन कुमार थापा र उनको कार्यसमितिले लगातार वार्तामार्फत समस्या समाधानका लागि पहल गरे पनि इतरपक्षले भेला र मिति तोकरे ‘बार्गेनिङ’ गर्दै अड्को थाप्ने काम गरेको नेताहरूले बताएका छन् । नेपाली कांग्रेसभित्र गुटगत सक्रियता स्वीकार्य भए पनि अहिले पार्टीले अघि सारेको सदस्यता अध्यावधिकमा बखेडा निकाल्दै आएका छन् । यसैगरी, विशेष महाधिवेशनबाट आएको नेतृत्व भंग गरेर महाधिवेशन आयोजक समिति गठन गर्नुपर्ने र विशेषमा सहभागी नभएका सबैलाई केन्द्रीय कार्यसमितिमा ल्याउनुपर्ने असान्दर्भिक माग पनि अघि सार्दै आएको छ ।
इतरपक्षले प्रदेशस्तरीय भेला आयोजना गर्दा जिल्ला र प्रदेशसभापतिहरू नै उपस्थित नभएपछि र पहिला इतरपक्षमा खम्बाको रूपमा प्रस्तुत हुने नेताहरू नै अध्यावधिक गर्ने सार्वजनिकरूपमै घोषणा गरेपछि अहिले उनीहरू सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माहरूसँग बार्गेनिङ गर्न लागि परेका छन् । पछिल्ला दिनहरूमा पूर्वउपसभापति पूर्णबहादुर खड्का, नेता डा.शेखर कोइराला लगायतले संस्थापनसँग भेटेर पुरानै कुराहरू राख्दै आएका छन् । उपसभापति शर्मासँगको भेटपछि नेता डा.कोइरालाले नेता विमलेन्द्र निधिसँग भेटेका थिए । तर, संस्थापन पक्षले भने सदस्यता अध्यावधिक अन्तिम चरणमा पुगेको जनाउँदै असोज १६–१९को १५औँ महाधिवेशन सफल बनाउने गरी तयारी निकै अगाडि बढेको जनाएको छ ।
यसैबीच, नेपाली कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरणको समयावधि थप्ने तयारी भएको छ । युवालाई लक्षित गरेर नयाँ सदस्यता वितरणका लागि जिल्लामा खटाइएका प्रतिनिधिहरूको मागअनुसार समयावधि थप्ने तयारी गरिएको हो ।
नयाँ सदस्यता वितरणका लागि खटाइएका प्रतिनिधिहरूले समय अपुग भएको बताएका कारण समयावधि थप हुने कांग्रेस स्रोतले जनाएको छ ।
सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक एवं महामन्त्री प्रदीप पौडेलले पनि केन्द्रीय प्रतिनिधिहरूले समयावधि थप्नु पर्ने माग गरिएको बताए । यसअघि ३० जेठमा बसेको समितिको बैठकले क्रियाशील फारम तथा अनलाइनमार्फत नयाँ क्रियाशील सदस्यता वितरण कार्य २० असारसम्मका लागि कायम गर्ने निर्णय गरेको थियो ।
कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत पाँच लाख ३८ हजार ६२२ क्रियाशील सदस्यहरूले अद्यावधिक गरेको जनाएको थियो ।
समितिले अन्य एक लाख ४९ हजार ३०९ जना क्रियाशील सदस्यहरूले पेस गरेको स्वयं अद्यावधिक फाराम डिजिटल प्रणालीमा प्रविष्ट भएर वडा तहमार्फत अद्यावधिकको प्रक्रियामा रहेको पनि जनाएको थियो ।










Facebook Comments