
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन आज (आइतबार)देखि चितवनमा सुरु हुँदै छ । महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको पार्टीले जनाएको छ । महाधिवेशनमा सहभागी हुनका लागि देशभरबाट करिब चार हजार प्रतिनिधिहरू चितवन पुगेका छन् । रास्वपा प्रवक्ता मनीष झाका अनुसार हालसम्म तीन हजार ९९० जना प्रतिनिधिले सहभागिता शुल्क बुझाइसकेका छन् । पार्टीले प्रतिप्रतिनिधि पाँच हजार रुपैयाँ शुल्क तोकेको छ ।
महाधिवेशनको पूर्वसन्ध्यामा शनिबार भरतपुरको दियालो फुडल्यान्डमा रास्वपा केन्द्रीय समितिको अन्तिम बैठक बसेको थियो । बैठकलाई सम्बोधन गर्दै पार्टी सभापति रवि लामिछानेले नेतृत्व र विभिन्न पदका लागि पार्टीका नेताहरूलाई स्वस्थ प्रतिस्पर्धा गर्न अपिल गरेका छन् ।
सभापति लामिछानेले रास्वपा संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि सधैँ प्रतिबद्ध रहने स्पष्ट पारे । आफ्ना लागि पार्टीको आन्तरिक लोकतन्त्र र निष्ठा असाध्यै महत्वपूर्ण रहेको बताउँदै त्यसमा कहिल्यै सम्झौता (कम्प्रोमाइज) नगर्ने उनले प्रतिबद्धता जनाए । महाधिवेशनमा नेतृत्वका लागि सभापति लामिछाने र प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पक्षमा विभाजित नेता तथा कार्यकर्ताहरूबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । रणनीतिक चालबाजी गर्न खप्पिस मानिएका बालेनले आफ्ना विश्वास पात्र भूपदेव शाहलाई सभापतिमा अगाडि सार्ने सम्भावना पनि उत्तिकै रहेको राजनीतिक वृत्तमा चर्चा छ । तीन वर्ष काठमाडौं महानगरपालिकाको मेयर हुँदा शाह बालेनका निकट सहयोगी स्वकीय सचिवको भूमिकामा थिए । प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले बालेनको कोटाबाट उनलाई गृहजिल्ला अछाममा उम्मेदवार बनायो । तर उनले जित्न सकेनन् । उनी बालेनको कोर टिममा भने रहिरहे । बालेन र रास्वपाबीच एकतापछि पुस १३ को सहमतिअनुसार सहमहामन्त्री बनेका भूपदेव वैशाख ७ गते महामन्त्रीमा बढुवा भएका थिए । पार्टी सभापति लामिछाने भने पहिलो महाधिवेशन भएको सहमतिकै आधारमा सम्पन्न गर्नुपर्ने बताएका छन् । उनले पार्टीमा समायोजन भएर भर्खरै आएकाहरूलाई प्रतिस्पर्धा गरेर आऊ भन्नु न्यायपूर्ण नभएको भन्दै सहमतिमै सम्पन्न गर्नुपर्ने पक्षमा देखिए पनि आकांक्षीहरूको लर्को भएकाले यो सम्भावना कमै देखिएको छ ।
रास्वपामा पदाधिकारीहरूका आकांक्षीहरू प्रशस्तै देखिँदा पदाधिकारी चयनमा मतदान नै हुने भएकोे छ । रास्वपाको केन्द्रीय सचिवालय बैठकले स्वीकृत संशोधित विधानमा पदाधिकारीदेखि केन्द्रीय समितिको आकार बढाएको छ । मौजुदा १२१ सदस्यीय केन्द्रीय समितिलाई विधानमा संशोधन गरेर १५८ पु¥याइएको छ । यसमध्ये ५१ सदस्य सभापतिले मनोनीत गर्ने व्यवस्था गरिएको छ । संशोधित विधानमा १३ सदस्यीय पदाधिकारीलाई १९ सदस्यीय बनाइएको छ । अब सभापति १, वरिष्ठ नेता १, उपसभापति (एक महिलासहित) ३, महामन्त्री २, सहमहामन्त्री (एक महिलासहित) ५, प्रवक्ता १, सहप्रवक्ता (एक महिलासहित) ३, कोषाध्यक्ष १, सहकोषाध्यक्ष (एक महिलासहित) २ पदाधिकारी हुनेछन् । कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता र सहप्रवक्ता सभापतिले नै मनोनीत गर्नेछन् । रास्वपाले विधानमा वरिष्ठ नेताको व्यवस्था गरेको छ । चुनावअघि भएको सहमतिअनुसार प्रधानमन्त्री बालेन्द्र शाह वरिष्ठ नेता छन् ।
उपसभापतिका लागि लीमा अधिकारी, इन्दिरा राना, समीक्षा बास्कोटा, सोविता गौतम, प्रतिभा रावल, सरिताश्री ज्ञवाली आकांक्षी देखिएका छन् । यस्तै, स्वर्णिम वाग्ले, सुनिल लम्साल, गणेश कार्की, विराजभक्त श्रेष्ठलगायतले पनि उपसभापतिमा आकांक्षा व्यक्त गरिरहेका छन् । उनीहरूमध्ये लम्साल प्रधानमन्त्री बालेनका विश्वासपात्र हुन् । महामन्त्रीका लागि आधा दर्जन बढीले दौडधूप सुरु गरेका छन् । यस्तै, कवीन्द्र बुर्लाकोटी, दीपक बोहोरा, विपीन आचार्य, मनीष झा, प्रमोद न्यौपाने पनि महामन्त्री बन्ने कसरतमा जुटेका छन् । यस्तै, सहमहामन्त्रीमा पुकार बम, प्रकाशचन्द्र परियार, रमेश प्रसाईं, सागर ढकाल, खगेन्द्र सुनार, असिम शाह, शिशिर खनालले आकांक्षी छन् भने ज्वाला संग्रौला, क्रान्तिशिखा ढकाल, कुसुम महर्जन, रञ्जु दर्शनाले सहमहामन्त्री बन्ने चाहना व्यक्त गरिरहेका छन् । सांसद तथा पार्टीका सक्रिय नेतृहरू डा. तोसिमा कार्की र निशा डाँगी पनि पदाधिकारी बन्ने आकांक्षी हुन् ।
रास्वपाको हालै सम्पन्न अधिवेशनहरूमा गुटगत प्यानल बनाएर चुनाव लड्न रोक लगाए पनि केही जिल्ला, प्रदेश तथा पालिकामा भने नयाँ–पुराना समूहबीच प्रतिस्पर्धा भएको थियो । पार्टीले जनप्रतिनिधिहरूलाई पार्टीको संरचनामा नआउन निर्देशन गरे पनि कतिपय जनप्रतिनिधिले पार्टीको निर्देशनलाई उल्लंघन गर्दै प्रतिस्पर्धामा उत्रिएका थिए ।










Facebook Comments