काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छाड्नका लागि तीव्र दबाब बढिरहे पनि ओली तत्काल नेतृत्व छाड्न तयार नभएपछि पार्टीको आन्तरिक विवाद फेरि सतहमा आएको छ । अहिलेको अवस्थामा कुनै पनि हालतमा नेतृत्व छाड्ने पक्षमा नरहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायत विगतमा ओलीकै कोर टिममा रहेका अधिकांश नेताहरूले नेतृत्व छाड्नका लागि ओलीमाथि निरन्तर दबाब बढाइरहेका छन् । 

एमालेमा पार्टीको पुनर्गठन र पुनर्संरचनाको पक्ष र विपक्षमा नेताहरू विभाजित भएको अवस्थामा एमालेको जेठ १० गते सम्पन्न सचिवालय बैठकले पार्टीका उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठन गरेको १५ सदस्यीय निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले सुझाव संकलन सुरु गरिसकेको छ । बाग्मति र कोशीमा कार्यदलले सुझाव संकलन गर्ने क्रममा अधिकांश नेता तथा कार्यकर्ताले ओलीलाई सम्मानजनक रूपमा नेतृत्व छाड्न सुझाएका छन् । यही असार १९ गतेसम्म चल्ने सुझाव संकलनको प्रक्रियाले एमालेभित्रको आन्तरिक द्वन्द्वलाई निर्णायक मोडमा पु¥याउने एमालेकै नेताहरूले बताएका छन् । ओलीले सहज रूपमा नेतृत्व छाड्न तयार नभए अन्तरसंघर्षलाई वार कि पारको अवस्थामा लैजाने तयारीमा ओलीको विकल्प खोजिरहेका नेताहरू लागेका छन् । 

ad

पार्टीभित्र नेतृत्व छाड्नका लागि तीव्र दबाब बढिरहेपछि अध्यक्ष ओलीले आफ्नो प्रतिरक्षाका लागि सक्रियता बढाएका छन् । उनले आफूलाई लामो समय साथ दिएका पदाधिकारीहरूमाथि नै दल फुटाउन खोजेको र व्यक्तिगत स्वार्थमा लागेको आरोप लगाउन पछि परेनन् । केही दिनअघि उनले आफ्नो निवास भक्तपुरको गुन्डुमा बाग्मती प्रदेशका केही नेताहरूलाई बोलाएर पुनर्गठनको पक्षमा देखिएका नेताहरूलाई लोभी–पापीको संज्ञा दिँदै आफूले केही गल्ती नगरेकाले नेतृत्व परिवर्तनको प्रश्नै नउठ्ने बताएका छन् । छलफलमा सहभागी एक नेताका अनुसार ओलीले आफूले मात्र विधि र पद्धति नकुल्चिएको दाबी समेत गरेका छन् । त्यसो त बागमती प्रदेशस्तरीय चुनावी समीक्षा र पुनर्गठन कार्यदलको भेलामा सहभागी भएका अधिकांश नेता तथा कार्यकर्ताहरूले नेतृत्व परिवर्तनसहित पार्टी पुनर्गठनको पक्षमा आफ्ना भनाइ राखेपछि पुनर्गठनका लागि दबाब बढाउँदै आएका उपाध्यक्ष पौडेल, महासचिव पोखरेललगायत नेताहरू उत्साहित देखिएका छन् । भेलामा सहभागी लगभग ८० प्रतिशत नेता तथा कार्यकर्ताहरूले अहिलेको अवस्थामा पार्टी अगाडि बढ्न नसक्नै भन्दै अब नेतृत्व परिवर्तन गर्दै पार्टीलाई पुनर्संरचना गर्नु टड्कारो आवश्यकता भएकोमा जोड दिएका थिए । पार्टीके तल्लो तहमा भने ओली मात्रै नभएर विष्णु पौडेल, शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङलगायतले पनि मार्गप्रशस्त गरेर पार्टीको नेतृत्व युवापुस्तामा पु¥याउन दबाब दिन थालेका छन् ।

कोशी प्रदेशबाट पनि पार्टी पुनर्गठन र पुस्तान्तरणको माग सशक्त रूपमा उठेको छ । विराटनगरमा मंगलबार आयोजित छलफलमा सहभागी अधिकांश नेताहरूले संगठनात्मक सुधारका लागि नेतृत्व तहमा परिवर्तन आवश्यक रहेको बताएका थिए । 

छलफलमा बोल्ने अधिकांश नेताहरूले पार्टीले पछिल्लो निर्वाचनमा अपेक्षाभन्दा कमजोर परिणाम व्यहोर्नुको कारण संगठनभित्रको संरचनागत कमजोरी, नेतृत्व शैलीप्रतिको असन्तुष्टि र जनतासँगको दूरी भएको विश्लेषण गरेका थिए । उनीहरूले एमालेलाई पुनः सशक्त बनाउन संगठन पुनर्गठन र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने सुझाव दिएका थिए । 

११औँ महाधिवेशनबाट आफ्नै पक्षमा रहेर निर्वाचित भएर आए पनि अहिले आफूलाई हटाउन पौडेल र पोखरेल मोर्चाबन्दी गरेर दबाब बढाएकोमा ओली असन्तुष्ट छन् । १९ सदस्यीय सचिवालयमा उपाध्यक्ष रामबहादुर थापा, उपमहासचिव लेखराज भट्ट र सचिव महेश बस्नेतबाहेकका अरू नेता आफ्नो पक्षमा नदेखिएपछि पछिल्लोपटक ओलीको प्रदेश र केन्द्रीय सदस्यहरूलाई आफ्नो पक्षमा ल्याउनका लागि फकाईरहेका छन् ।