
काठमाडौं।प्रतिनिधि सभाको आगामी हिउँदे अधिवेशन सिंहदरबारस्थित निर्माणाधीन नयाँ संघीय संसद भवनको प्रतिनिधि सभा हलबाट सञ्चालन गर्ने तयारी गरिएको छ। अधिवेशन सुरु हुनुअघि हलको प्राविधिक परीक्षण र बाँकी पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ।
सरकारले आगामी सोमबार प्रतिनिधि सभाको अधिवेशन आह्वान गर्ने तयारी गरिरहेको छ। सम्भावित कार्यतालिकाअनुसार फागुन २१ गतेदेखि अधिवेशन सुरु हुन सक्ने जनाइएको छ।
संघीय संसद सचिवालयका अनुसार नयाँ संसद भवनको प्रतिनिधि सभा हलमा अडियो तथा भिडियो प्रणालीको परीक्षण भइरहेको छ। बैठक सञ्चालन गर्नुअघि परीक्षण बैठकसमेत गर्ने तयारी छ।
सचिवालयका प्रवक्ता एकराम गिरीले प्राविधिक परीक्षणबाट हल बैठक सञ्चालनका लागि उपयुक्त देखिए आगामी अधिवेशन नयाँ भवनबाटै सञ्चालन गरिने जानकारी दिए। यसअघि गत जेठ १५ गते बजेट नयाँ हलबाट प्रस्तुत गर्ने तयारी भए पनि अन्तिम समयमा उक्त योजना रोकिएको थियो।
सभामुख डोलप्रसाद अर्यालले पनि नयाँ हलबाटै अधिवेशन सञ्चालन गर्ने गरी आवश्यक तयारी पूरा गर्न सम्बन्धित मन्त्रालय र निर्माण व्यवसायीलाई निर्देशन दिएका छन्। संसद सचिवालयले बाँकी कामको सूची तयार पारेर निर्माण कम्पनीलाई शीघ्र काम सम्पन्न गर्न ताकेता गरिरहेको छ।
सुरक्षा र प्राविधिक पूर्वाधारमा अझै काम बाँकी
नयाँ संसद भवनमा बैठक सञ्चालनका लागि आवश्यक सुरक्षा तथा प्राविधिक व्यवस्थापन पूरा गर्न सचिवालयले निर्माण व्यवसायीलाई विभिन्न निर्देशन दिएको छ।
सांसद, मन्त्री तथा दर्शक प्रवेश गर्ने स्थानमा ब्यागेज स्क्यानर जडान गर्नुपर्नेछ। निषेधित सामग्री सुरक्षित राख्न छुट्टाछुट्टै कोठाको व्यवस्था गर्न पनि भनिएको छ।
त्यसैगरी, बैठक सुरु हुनुअघि बजाइने जनाउ घण्टी जडान गर्न सचिवालयले आग्रह गरेको छ। प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा मत विभाजनको प्रक्रिया सञ्चालन गर्न पनि यस्तो व्यवस्था आवश्यक हुने बताइएको छ।
सभामुखको आसनबाटै माइक नियन्त्रण गर्न मिल्ने स्विच, हरियो, पहेँलो र रातो संकेत बत्ती तथा कार्यव्यवस्था परामर्श समितिका कर्मचारी बस्ने स्थान व्यवस्थापन गर्नुपर्ने काम पनि बाँकी छन्।
मिडिया सेन्टर, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका लागि छुट्टाछुट्टै कक्ष निर्माण गर्न निर्देशन दिइए पनि मिडिया सेन्टरको व्यवस्था अझै पूरा हुन सकेको छैन।
टेलिफोन नेटवर्कदेखि उज्यालोसम्म समस्या
नयाँ भवनमा केही प्राविधिक कमजोरीसमेत देखिएका छन्। भवनभित्र टेलिफोन नेटवर्कले काम नगर्ने समस्या रहेको सचिवालय स्रोतले जनाएको छ। त्यस्तै, शौचालयमा पानी आपूर्तिको व्यवस्था पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।
भवन निरीक्षणमा संलग्न अधिकारीहरूका अनुसार बैठक कक्षमा पर्याप्त प्रकाशको अभावसमेत देखिएको छ। क्यामरा सञ्चालनका लागि आवश्यक उज्यालो नपुगेको भन्दै थप प्रकाशको व्यवस्था गर्न सुझाव दिइएको छ।
सचिवालयका अधिकारीका अनुसार बैठक कक्षमा प्रयोग गरिएका ४० वाटका साना बल्बले पर्याप्त प्रकाश दिन सकेका छैनन्।
सभामुख अर्यालले निर्माण कम्पनीले काममा ढिलाइ गरिरहेको भन्दै नयाँ हलमै बैठक सञ्चालन गरेर बाँकी कमजोरी सुधार गर्न दबाब दिने रणनीति लिइएको बताएका छन्।
उनका अनुसार संसद सचिवालयका विभिन्न शाखालाई आवश्यक टेबल, कुर्सी तथा कार्यालय सामग्रीको व्यवस्था गर्न निर्माण व्यवसायीसँग समन्वय गरी काम अघि बढाउन निर्देशन दिइएको छ। बैठक सञ्चालनका क्रममा देखिने कमीकमजोरी तत्काल सुधार गरिने उनको भनाइ छ।
छ वर्षमा पनि पूरा भएन संसद भवन निर्माण
सिंहदरबारस्थित पुतली बगैँचाको १७३ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको नयाँ संघीय संसद भवनको शिलान्यास २०७६ असोज १ गते गरिएको थियो। सुरुमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि निर्धारित समयसीमामा काम पूरा हुन सकेन।
शिलान्यास भएको छ वर्ष बितिसक्दा पनि भवन पूर्ण रूपमा तयार हुन सकेको छैन। हालसम्म निर्माणको भौतिक प्रगति करिब ९० प्रतिशत पुगेको बताइएको छ।
परियोजनाअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा हल, संसदीय दलका कार्यालय, विभिन्न समितिका कक्ष तथा अन्य संरचना निर्माण भइरहेका छन्। मुख्य निर्माणको ठेक्का तुँदी–सेक जेभीले पाएको हो।
सुरुमा करिब पाँच अर्ब ६७ करोड रुपैयाँ लागत अनुमान गरिएको परियोजनामा निर्माण अवधि पटक–पटक थपिँदा खर्चसमेत बढेको छ। निर्माण कार्यबाहेक आन्तरिक सजावट, अडियो प्रणाली र अन्य प्राविधिक पूर्वाधारमा थप दुई अर्ब ३४ करोड रुपैयाँ खर्च भएको विवरण छ। अन्तिम लागत अझै बढ्न सक्ने देखिएको छ।
प्रतिनिधि सभा हल तयार पारिए पनि मुख्य प्रवेशद्वारभित्रको लबी, राष्ट्रिय सभा हल, प्रधानमन्त्री तथा मन्त्रीहरूका कक्ष र सभामुखको कार्यकक्षलगायत संरचनाको काम भने अझै सम्पन्न हुन सकेको छैन।
आगामी अधिवेशन नयाँ हलबाट सञ्चालन गर्ने तयारीसँगै संसद भवन निर्माणको बाँकी काम समयमै पूरा गर्न निर्माण व्यवसायीमाथि दबाब बढेको छ।









Facebook Comments