काठमाडौं।सरकारले प्रधानमन्त्री, मन्त्री तथा संघीय सांसदलाई समेत सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाएको छ। यससँगै करारमा कार्यरत सरकारी कर्मचारी, राहत शिक्षक र बाल विकास सहजकर्तालाई पनि सामाजिक सुरक्षा प्रणालीमा समेट्ने तयारी गरिएको छ।

नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले सरकारले यसका लागि आवश्यक नीतिगत आधार तयार गरिसकेको जानकारी दिइन्।

ad

मन्त्री बादीका अनुसार पहिलो चरणमा संघीय सरकारअन्तर्गत करारमा कार्यरत कर्मचारी, राहत शिक्षक र बाल विकास सहजकर्तालाई कोषमा आबद्ध गराइनेछ। त्यसपछि प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरेर अस्थायी प्रकृतिका अन्य कर्मचारी तथा शिक्षकलाई समेत सामाजिक सुरक्षा प्रणालीमा ल्याउने सरकारको योजना छ।

चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा कोषको खर्च शीर्षकमा विनियोजन गरिएको एक अर्ब ८० करोड ६३ लाख रुपैयाँबाट संघीय सरकारअन्तर्गतका लक्षित कर्मचारी तथा शिक्षकलाई आबद्ध गराउने व्यवस्था मिलाइएको उनले बताइन्।

सरकारले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई समेत सामाजिक सुरक्षाको दायरामा ल्याउने नीति अघि सारेको छ। यसका लागि स्थानीय तहको सहकार्य र योगदानलाई प्रोत्साहन गरिनेछ। त्यस्ता श्रमिकले जम्मा गर्नुपर्ने एक प्रतिशत बराबरको रकम संघीय सरकारले सहयोगदानका रूपमा जम्मा गरिदिने व्यवस्था गरिएको मन्त्री बादीले जानकारी दिइन्।

निजी क्षेत्रका श्रमिक र रोजगारदातासँगै सरकारी सेवामा रहेर पनि सामाजिक सुरक्षा सुविधा नपाएका कर्मचारीलाई समेट्ने सरकारको लक्ष्य रहेको उनको भनाइ छ।