काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद श्रीराम न्यौपानेले नेपाललाई चीन र भारतबीचको अन्तर्राष्ट्रिय व्यापार तथा पारवहन केन्द्र (ट्रान्जिट हब) का रूपमा विकास गर्न सकिने प्रस्ताव अघि सारेका छन्। उनले नेपालको भौगोलिक अवस्थिति, जलस्रोत र ऊर्जा सम्भावनालाई सदुपयोग गर्न सके मुलुकको आर्थिक रूपान्तरण सम्भव हुने बताएका छन्।

चीन भ्रमणबाट फर्किएपछि रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सांसद न्यौपानेले नेपालको समृद्धिको मुख्य आधार ऊर्जा हुनुपर्ने धारणा राखे। विगतका राजनीतिक व्यवस्था र नेतृत्वले मुलुकको विकासका लागि स्पष्ट आर्थिक मोडेल तयार गर्न नसक्दा नेपालले उपलब्ध स्रोतसाधनको लाभ लिन नसकेको उनको टिप्पणी थियो।

ad

उनका अनुसार शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, यातायात र औद्योगिकीकरणलगायत सबै क्षेत्रको विस्तारका लागि भरपर्दो विद्युत् आपूर्ति आवश्यक छ। पर्याप्त जलस्रोत हुँदाहुँदै पनि त्यसलाई उत्पादन, रोजगारी र आर्थिक गतिविधिसँग जोड्न नसक्नु नेपालको प्रमुख कमजोरी रहेको उनले बताए।

मधेसका विद्यालयमा अत्यधिक गर्मीका कारण बिहानको समयमा मात्रै पठनपाठन सञ्चालन गर्नुपर्ने अवस्थालाई उदाहरण दिँदै न्यौपानेले विद्युत्को सहज उपलब्धताले वातानुकूलित कक्षाकोठा निर्माण गरी शिक्षण वातावरण सुधार गर्न सकिने बताए। स्वास्थ्य संस्थामा एक्स–रेलगायत उपकरण सञ्चालन, कृषिमा चिस्यान केन्द्र स्थापना र खाद्यवस्तु प्रशोधन उद्योग सञ्चालनका लागि पनि नियमित विद्युत् आवश्यक रहेको उनको भनाइ थियो।

पर्यटन विकासका लागि पनि आधारभूत सुविधाको गुणस्तर सुधार गर्नुपर्ने उनले औँल्याए। पर्यटकीय गन्तव्यमा इन्टरनेट, मोबाइल नेटवर्क, स्वच्छ खाना, तातो तथा चिसो पानी र सुरक्षाको व्यवस्था नहुँदा पर्यटकको अनुभव प्रभावित हुने उनको तर्क थियो।

वितरणमुखी अर्थतन्त्रभन्दा उत्पादन र रोजगारीमा जोड

सांसद न्यौपानेले नेपालले अर्थतन्त्रको आकार विस्तार र उत्पादन वृद्धि गर्नुभन्दा सीमित स्रोत विभिन्न शीर्षकमा वितरण गर्न बढी ध्यान दिएको टिप्पणी गरे।

विकसित मुलुकका सामाजिक सुरक्षा कार्यक्रमको अनुकरण गर्नुअघि ती देशले कसरी उत्पादन, रोजगारी र निर्यात विस्तार गरेर आर्थिक क्षमता निर्माण गरे भन्ने विषय बुझ्नुपर्ने उनले बताए।

सामाजिक सुरक्षा भत्ता, विभिन्न अनुदान तथा पूर्वाधार कार्यक्रम सञ्चालन गर्दा देशको आर्थिक अवस्था र स्रोतको क्षमतालाई ध्यान दिनुपर्ने उनको भनाइ थियो। चीनलगायत मुलुकको विकास अनुभवबाट सिकेर नेपालको परिस्थिति अनुकूल आर्थिक नीति र विकास रणनीति निर्माण गर्नुपर्ने उनले सुझाए।

हिमालमुनि भूमिगत रेलमार्ग बनाएर दुई छिमेकी जोड्ने योजना

चीन भ्रमणका क्रममा नेपाललाई चीन र भारतबीचको व्यापारिक तथा पारवहन केन्द्र बनाउने अवधारणा प्रस्तुत गरेको न्यौपानेले जानकारी दिए।

उनका अनुसार चीनसँग आधुनिक प्रविधि, पुँजी र पूर्वाधार निर्माणको क्षमता छ भने नेपाल भौगोलिक रूपमा दुई ठूला अर्थतन्त्रबीच अवस्थित छ। यो अवस्थालाई उपयोग गरेर नेपालले क्षेत्रीय यातायात र व्यापारमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उनको भनाइ छ।

नेपालको हिमाली भूगोललाई अवरोधका रूपमा मात्र नहेरी अवसरका रूपमा उपयोग गर्नुपर्ने उनले बताए। हिमालमुनिबाट भूमिगत रेलमार्ग निर्माण गरी चीन र भारतबीच यातायात सम्पर्क विस्तार गर्न सके नेपाल अन्तर्राष्ट्रिय पारवहनको केन्द्र बन्न सक्ने उनको प्रस्ताव छ।

सडकमार्ग प्राकृतिक विपद्का कारण पटक–पटक अवरुद्ध हुने भएकाले दीर्घकालीन र भरपर्दो यातायात पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने पनि उनले बताए। यद्यपि यस्तो रेलमार्गको सम्भाव्यता, लागत र प्राविधिक पक्षमा विस्तृत अध्ययन आवश्यक हुने देखिन्छ।

जलविद्युत्सँगै हाइड्रोजन ऊर्जामा पनि लगानी गर्नुपर्ने

न्यौपानेले नेपालको जलस्रोतलाई अधिकतम उपयोग गरी विद्युत् उत्पादन र निर्यात विस्तार गर्नुपर्नेमा जोड दिए। पहाडबाट तराईतर्फ बग्ने पानीलाई सम्भव भएसम्म उपयोग गरेर ऊर्जा उत्पादन गर्न सके ठूलो आर्थिक लाभ लिन सकिने उनको भनाइ थियो।

उनले परम्परागत जलविद्युत् उत्पादनमा मात्र सीमित नभई आगामी पाँचदेखि दस वर्षमा विकसित हुन सक्ने ऊर्जा प्रविधिलाई समेत ध्यानमा राखेर नीति बनाउनुपर्ने बताए। विशेषगरी हाइड्रोजन ऊर्जाको सम्भावनालाई अहिलेबाटै अध्ययन र विकास गर्नुपर्ने उनको सुझाव थियो।

नेपालले आफ्नै विद्युत् आवश्यकता, खानेपानी, सिँचाइ र औद्योगिकीकरणलाई प्राथमिकता दिँदै अतिरिक्त ऊर्जा भारत, बंगलादेशलगायत छिमेकी मुलुकमा निर्यात गर्न सक्ने उनले बताए।

मध्यपूर्वका देशले पेट्रोलियम स्रोतको उत्खनन, प्रशोधन र अन्तर्राष्ट्रिय बजारमा बिक्रीमार्फत आर्थिक समृद्धि हासिल गरेको उदाहरण दिँदै उनले भविष्यमा जलस्रोतमा आधारित ऊर्जा नेपालको आर्थिक शक्तिको आधार बन्न सक्ने धारणा राखे।

पाँच वर्षभित्र आर्थिक रूपान्तरणको आधार बनाउनुपर्ने

वर्तमान सरकारसँग विगतका सरकारको तुलनामा बलियो जनमत र राजनीतिक म्यान्डेट रहेको उल्लेख गर्दै न्यौपानेले त्यसलाई दीर्घकालीन विकासको आधार तयार गर्न उपयोग गर्नुपर्ने बताए।

आगामी पाँच वर्षभित्र स्पष्ट ऊर्जा नीति, उत्पादनमुखी अर्थतन्त्र र आर्थिक रूपान्तरणको आधार तयार गर्न नसके भावी पुस्ताको अपेक्षामाथि अन्याय हुने उनको भनाइ थियो।

उनले नेपालको विकासलाई अनुदान र वितरणमा मात्र केन्द्रित नगरी जलस्रोत, ऊर्जा, आधुनिक यातायात, प्रविधि र उत्पादनसँग जोड्नुपर्ने प्रस्ताव गरेका छन्।