काठमाडौं।गृहमन्त्री सुधन गुरुङले आफ्नो गृह जिल्ला गोरखाको एक होमस्टेमा परम्परागत विधिअनुसार विवाह गर्ने तयारी गरेका छन्। आगामी १७ मंसिरमा तय भएको विवाह समारोहमा सीमित व्यक्तिलाई मात्रै आमन्त्रण गरिने जनाइएको छ।

गृहमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार विवाह गुरुङ समुदायको मौलिक परम्परा र संस्कृतिअनुसार सम्पन्न हुनेछ। समारोहमा प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसमेत सहभागी हुने तयारी रहेको छ।

ad

सचिवालय स्रोतका अनुसार गृहमन्त्री गुरुङले विवाह गर्न लागेकी युवतीसँग यसअघि नै कानुनी रूपमा विवाह गरिसकेका छन्। करिब दुई वर्षअघि कोर्ट म्यारिज गरेका उनीहरूबीच अब परम्परागत संस्कारअनुसार विवाह गर्ने सहमति भएको बताइएको छ।

कोर्ट म्यारिजपछि अमेरिका पुगेकी युवती त्यहाँ व्यवसायमा संलग्न थिइन्। लामो समयको छलफलपछि उनी नेपाल फर्किएर यहीँ बस्ने निर्णयमा पुगेको निकट स्रोतको दाबी छ।

विवाह आयोजना हुने गोरखाको गाउँ भने गृहमन्त्रीले अहिलेसम्म सार्वजनिक गरेका छैनन्। सचिवालयका सदस्यका अनुसार उक्त गाउँलाई भविष्यमा विवाह समारोहका लागि आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावनालाई समेत ध्यानमा राखेर होमस्टेमा विवाह गर्ने योजना बनाइएको हो।

सीमित पाहुनाको उपस्थितिमा हुने तयारी गरिएको उक्त विवाहले गुरुङ समुदायको परम्परा, संस्कृति र ग्रामीण पर्यटनलाई समेत चर्चामा ल्याउने अपेक्षा गरिएको छ।