
काठमाडौं।नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौला पन्तले पार्टीको आधिकारिकतासम्बन्धी विवाद अन्त्य भएको भन्दै अब सम्पूर्ण शक्ति आगामी स्थानीय तहको निर्वाचनमा केन्द्रित गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेकी छन्।
पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै उनले निर्वाचन आयोगबाट पार्टीको विधानअनुसारको विवरण र आधिकारिकता अद्यावधिक भएपछि लामो समयदेखिको आन्तरिक विवाद समाप्त भएको बताइन्।
अब पार्टीभित्रको विवादमा अल्झिनुको सट्टा संगठन विस्तार र निर्वाचनको तयारीमा लाग्नुपर्ने उनको भनाइ थियो। आयोगको निर्णयले कांग्रेसको आधिकारिकताबारे स्पष्टता दिएको उल्लेख गर्दै उनले उक्त सन्देश देशभरका ६ हजार ७ सय ४३ वटै वडा तथा बुथ तहसम्म पुर्याउनुपर्ने बताइन्।
महामन्त्री संग्रौलाले पार्टीको ‘हामी तयार छौँ’ अभियानलाई नारामा मात्र सीमित नराखी संगठन निर्माणको अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिइन्। त्यसका लागि बुथ समिति अद्यावधिक गर्ने, क्रियाशील सदस्यता नवीकरणलाई पारदर्शी बनाउने र ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानलाई प्रभावकारी बनाउनुपर्ने उनले बताइन्।
आगामी निर्वाचनमा सफलता हासिल गर्न अन्तिम समयमा गरिने दौडधुपभन्दा अहिलेदेखिकै संगठनात्मक तयारी महत्त्वपूर्ण हुने उनको धारणा थियो। उम्मेदवार छनोटका लागि समयमै स्वच्छ छवि र जनतामाझ लोकप्रिय व्यक्तिको पहिचान गर्नुपर्ने भन्दै उनले पार्टीको आधिकारिक निर्णयविरुद्ध बागी उम्मेदवारी दिने तथा असहयोग गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताइन्।
उनले कांग्रेसबाट विगतमा निर्वाचित जनप्रतिनिधिले गरेका कामको तथ्यांकसहित जनतामाझ जान र आगामी पाँच वर्षका लागि स्पष्ट योजना प्रस्तुत गर्न पनि पार्टी पंक्तिलाई आग्रह गरिन्। युवाको सक्रियता, अनुभवी नेताको योगदान र नागरिकको विश्वासलाई एकै ठाउँमा जोड्नुपर्ने उनको भनाइ थियो।
बैठकमा महामन्त्री संग्रौलाले प्रधानमन्त्री बालेन नेतृत्वको सरकारका गतिविधिमाथि पनि प्रश्न उठाइन्। उनले सरकारका पछिल्ला कदम लोकतान्त्रिक मूल्य, नागरिक अधिकार र विधिको शासनको मर्मविपरीत रहेको आरोप लगाइन्।
अमेरिका–इरान द्वन्द्वका कारण अन्तर्राष्ट्रियस्तरमा अस्थिरता र महँगी बढिरहेको अवस्थामा जनताका दैनिक समस्यालाई प्राथमिकता दिनुपर्नेमा सरकार नागरिकका मौलिक अधिकार संकुचित गर्नेतर्फ लागेको उनको आरोप थियो।
पत्रिका कार्यालयमा पुगेर धरपकड गर्ने, प्रहरीको अनुसन्धान प्रक्रियामा हस्तक्षेप गर्ने तथा अनुसन्धानका क्रममा लिइएको मोबाइल फोन प्रधानमन्त्रीका सल्लाहकारले नै लगेर राखेको भन्ने विषयलाई उनले गैरकानुनी गतिविधिको संज्ञा दिइन्। यस्ता कार्य कांग्रेसलाई स्वीकार्य नहुने उनले स्पष्ट पारिन्।
राष्ट्रिय सार्वभौमसत्तासँग जोडिएका चुच्चे नक्सा र प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनसम्बन्धी विषयमा पनि उनले सरकारको भूमिकामाथि आलोचना गरिन्। यी विषयमा नेपालको राष्ट्रिय अडान कमजोर हुन नहुने भन्दै उनले संसद् र सडक दुवै माध्यमबाट आवाज उठाउनुपर्ने बताइन्।
यसैगरी, प्राकृतिक विपद्बाट प्रभावित नागरिकको पुनर्स्थापनाको विषय पनि उनले बैठकमा उठाइन्। गत भदौमा भोटेकोशी, त्रिशूली र बूढीगण्डकी क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवार अझै पुनर्वासको प्रतीक्षामा रहेको उल्लेख गर्दै उनले तत्काल राहत, सुरक्षित आवास र दीर्घकालीन जीविकोपार्जनको व्यवस्था गर्न सरकारसँग माग गरिन्।
विस्थापित तथा भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्दा राजनीतिक स्वार्थभन्दा मानवीय मर्यादा र सामाजिक न्यायलाई प्राथमिकता दिनुपर्ने उनको धारणा थियो। उनीहरूलाई सुरक्षित स्थानमा पुनर्स्थापना गरी रोजगारी, शिक्षा र स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्नुपर्ने उनले बताइन्।
महामन्त्री संग्रौलाको बैठकमा प्रस्तुत धारणाले कांग्रेसले अब आन्तरिक विवादभन्दा संगठन सुदृढीकरण, स्थानीय निर्वाचनको तयारी र सरकारका कामकारबाहीमाथि निगरानीलाई प्राथमिकतामा राख्नुपर्ने सन्देश दिएको छ।









Facebook Comments