
काठमाडौं ।सरकारले सामाजिक सुरक्षा कार्यक्रमको दायरा फराकिलो बनाउँदै संघीय सरकारअन्तर्गत कार्यरत करार कर्मचारी, राहत तथा अस्थायी शिक्षक र बालविकास सहजकर्तालाई समेत सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने तयारी गरेको छ। अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई पनि योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा समेट्ने सरकारको योजना छ।
नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले सरकारी सेवामा रहेर पनि सामाजिक सुरक्षा सुविधाबाट वञ्चित कर्मचारी तथा श्रमिकलाई कोषमा जोड्ने प्रक्रिया अघि बढाइएको जानकारी दिइन्।
मन्त्री बादीका अनुसार चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा कोषका लागि विनियोजन गरिएको एक अर्ब ८० करोड ६३ लाख रुपैयाँबाट करार कर्मचारी, राहत तथा अस्थायी शिक्षक र बालविकास सहजकर्तालाई आबद्ध गराउने आधार तयार गरिएको छ।
सरकारले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको सहभागिता बढाउन स्थानीय तहसँग सहकार्य गर्ने नीति पनि अघि सारेको छ। यसअन्तर्गत श्रमिकका लागि एक प्रतिशत बराबरको सह–योगदान संघीय सरकारले जम्मा गरिदिने व्यवस्था मिलाउन लागिएको मन्त्रीले बताइन्।
सामाजिक सुरक्षाको सुविधा तल्लो तहका श्रमिकमा मात्र सीमित नराखी राज्यका उच्च पदाधिकारीसम्म विस्तार गर्ने योजनाअनुसार प्रधानमन्त्री, मन्त्री तथा संघीय सांसदलाई समेत सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाइएको छ।
यस व्यवस्थाले निजी क्षेत्रका श्रमिकसँगै सरकारी तथा अस्थायी प्रकृतिका सेवामा कार्यरत जनशक्तिलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याउने सरकारको लक्ष्य रहेको छ।
कोषमा ३३ लाखभन्दा बढी योगदानकर्ता
सामाजिक सुरक्षा कोषमा हालसम्म ३३ लाखभन्दा बढी योगदानकर्ता र करिब २४ हजार रोजगारदाता सूचीकृत भएका छन्।
कोषमा योगदानकर्ताबाट एक खर्ब ३३ अर्ब २६ करोड रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको छ। त्यस्तै, विभिन्न सामाजिक सुरक्षा योजनाअन्तर्गत २३ अर्ब २६ करोड रुपैयाँभन्दा बढी रकम दाबी भुक्तानी गरिएको विवरण सार्वजनिक गरिएको छ।
सरकारले सामाजिक सुरक्षा कार्यक्रमलाई रोजगारीको प्रकृति र कार्यक्षेत्रका आधारमा सीमित नराखी सबै श्रमिकसम्म विस्तार गर्ने लक्ष्य लिएको छ।
यस वर्षको सामाजिक सुरक्षा दिवस ‘सामाजिक सुरक्षा कोषमा आबद्धता : वर्तमान र भविष्यको सुरक्षा’ भन्ने नाराका साथ मनाइएको हो।









Facebook Comments