काठमाडौं।राष्ट्रिय गौरवको काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणमा ढिलासुस्ती गर्ने निर्माण कम्पनीमाथि कारबाहीको तयारी गरिएको छ। पटक–पटक ताकेता गर्दा पनि निर्धारित कार्यतालिकाअनुसार काम नगर्ने ठेकेदारसँगको सम्झौता अन्त्य गरी नयाँ बोलपत्र प्रक्रिया अघि बढाउने सरकारको तयारी छ।

महादेवटारस्थित द्रुतमार्गको सबैभन्दा लामो सुरुङको ब्रेक थ्रु कार्यक्रममा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले संशोधित कार्यतालिकाअनुसार काम नगर्ने निर्माण कम्पनीलाई अब थप समय दिन नसकिने बताएका थिए। उनले विशेषगरी प्याकेज ९ ‘क’, ९ ‘ख’ र ८ ‘ख’ को कार्यप्रगतिप्रति असन्तुष्टि जनाउँदै आगामी जेठसम्म उल्लेखनीय सुधार नभए ठेक्का रद्द गर्न निर्देशन दिएका छन्।

ad

राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजंग थापाले पनि प्याकेज ६ र ९ लगायतका खण्डमा निर्माणको गति कमजोर रहेको बताएका छन्। उनका अनुसार सुस्त काम गरिरहेका कम्पनीलाई बढीमा एकदेखि डेढ महिनासम्म सुधारको अवसर दिन सकिन्छ। त्यस अवधिमा प्रगति नदेखिए ठेक्का तोड्नुपर्ने अवस्था आउन सक्छ।

निर्माण सुरु भएको लामो समय बितिसक्दा पनि केही खण्डमा अपेक्षित प्रगति नहुँदा समग्र आयोजनाको समयसीमामाथि प्रश्न उठेको छ। नेपाली सेनाले पटक–पटक ताकेता, स्थलगत अनुगमन र पत्राचार गरे पनि निर्माण व्यवसायीले आफ्नै प्रतिबद्धताअनुसार काम गर्न नसकेको सरकारी पक्षको भनाइ छ।

कुन प्याकेजमा कुन कम्पनीले गरिरहेको छ काम ?

काठमाडौं–तराई मधेस द्रुतमार्गलाई कुल १३ वटा प्याकेजमा विभाजन गरिएको छ। तीमध्ये १२ वटा प्याकेजमा निर्माण व्यवसायी परिचालित छन्। उपलब्ध विवरणअनुसार विभिन्न प्याकेजमा चिनियाँ कम्पनी, नेपाली–चिनियाँ संयुक्त उपक्रम (जेभी) तथा भारतीय कम्पनीले निर्माणको जिम्मेवारी लिएका छन्।

फास्ट ट्र्याकका निर्माण कम्पनी र प्याकेज विवरण

प्याकेजनिर्माण व्यवसायी
१China State Construction Engineering Co. Ltd. (China)
२Poly Changda Engineering Co. Ltd. (China)
३Kumar-Roshan-Sichuan JV
४Poly Changda Engineering Co. Ltd. (China)
५CAMCE-SDLQ JV (China)
६China First Highway Engineering Co. Ltd.
७Xinrung-Ashish-Tundi JV
८ ‘क’Longjian-Bhimeshwor JV
८ ‘ख’KMC Construction Limited
९ ‘क’Jiangxi-Hanuman-Baniya JV
९ ‘ख’XCGC-Hanuman-Baniya JV
१०CREGC-COVEC JV

सरकारको विशेष निगरानीमा परेका प्याकेजमध्ये ९ ‘क’ मा जियाङ्सी–हनुमान–बानियाँ जेभी र ९ ‘ख’ मा एक्ससीजीसी–हनुमान–बानियाँ जेभीले काम गरिरहेका छन्। यी दुवै प्याकेजमा चिनियाँ र नेपाली निर्माण कम्पनीको संयुक्त उपक्रम संलग्न छ।

त्यस्तै, प्याकेज ८ ‘ख’ मा भारतीय कम्पनी केएमसी कन्स्ट्रक्सन लिमिटेडले निर्माणको जिम्मेवारी पाएको छ। योजना आयोगका सदस्य थापाले कमजोर प्रगति औँल्याएको प्याकेज ६ मा चाइना फस्ट हाइवे इन्जिनियरिङ कम्पनी कार्यरत छ।

१२ वटा निर्माण प्याकेजमध्ये ६ वटामा चिनियाँ कम्पनी तथा चिनियाँ कम्पनीसँगको संयुक्त उपक्रम संलग्न छन्। अन्य प्याकेजमा नेपाली र चिनियाँ कम्पनीको साझेदारीमा निर्माण भइरहेको छ।

काम नगर्नेलाई कारबाही, समयमै सक्नेलाई सहुलियत

सरकारले निर्माण व्यवसायीलाई अब कामको प्रगतिका आधारमा जिम्मेवार बनाउने नीति अघि सार्ने तयारी गरेको छ। समयमै काम सम्पन्न गर्ने कम्पनीलाई प्रोत्साहनस्वरूप जरिवाना मिनाहा गर्ने र तोकिएको समय तथा अवसर दिँदासमेत काम नगर्ने कम्पनीको ठेक्का अन्त्य गर्ने गरी दण्ड र पुरस्कारको व्यवस्था लागू गर्ने विषयमा छलफल भइरहेको छ।

विगतमा खरिद प्रक्रिया र डिजाइन स्वीकृतिमा भएको ढिलाइले निर्माण व्यवसायीको नगद प्रवाहमा समस्या परेको पक्षलाई पनि सरकारले सम्बोधन गर्नुपर्ने देखिएको छ। तर त्यस्ता समस्यालाई देखाएर अनिश्चितकालसम्म आयोजना अलपत्र पार्न नपाइने सरकारी पक्षको धारणा छ।

खोकना खण्डको ठेक्का अझै अन्योलमा

द्रुतमार्गको सुरुवाती बिन्दु मानिएको प्याकेज ११ अन्तर्गत खोकना–बुङ्मती–डुकुछाप खण्डको ठेक्का प्रक्रिया भने अझै अघि बढ्न सकेको छैन।

ललितपुरको खोकना क्षेत्रमा जग्गा अधिग्रहण, मुआब्जा वितरण तथा स्थानीय नेवार समुदायको सांस्कृतिक र पुरातात्त्विक सम्पदा संरक्षणसम्बन्धी विवाद समाधान हुन नसक्दा करिब साढे ६ किलोमिटरको यो खण्ड अन्योलमा परेको हो।

आयोजना प्रमुख सहायक रथी भरतलाल श्रेष्ठले उक्त क्षेत्रका समस्या समाधानका लागि पहल भइरहेको र विवाद टुंगिएपछि ठेक्का प्रक्रिया अघि बढाइने बताएका छन्।

५१ प्रतिशत भौतिक प्रगति, ९५ अर्बभन्दा बढी खर्च

करिब ७१ किलोमिटर लामो फास्ट ट्र्याकको समग्र भौतिक प्रगति हाल ५१ प्रतिशत पुगेको छ। आयोजनाअन्तर्गत १४ वटा सुरुङमध्ये ६ वटाको ब्रेक थ्रु सम्पन्न भइसकेको छ।

महादेवटारको ३.४४५ किलोमिटर लामो दायाँ सुरुङ र ३.४८६ किलोमिटर लामो बायाँ सुरुङ छिचोलिएको छ। त्यस्तै, धेद्रे र लेनडाँडाका सुरुङसमेत ब्रेक थ्रु भइसकेका छन्।

आयोजनामा ८९ स्थानमा पुल निर्माणको योजना रहेकामा ८५ स्थानको ठेक्का सम्झौता भइसकेको छ। तीमध्ये ५७ स्थानमा जग निर्माण र १६ स्थानमा सुपर स्ट्रक्चर निर्माण सम्पन्न भएको विवरण छ।

फास्ट ट्र्याकको संशोधित लागत अनुमान २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ रहेको छ। हालसम्म आयोजनामा ९५ अर्ब १६ करोड रुपैयाँ खर्च भइसकेको छ।

सरकारले आयोजनाको समयसीमा तेस्रोपटक थप गर्दै २०८६ चैत मसान्तसम्म पुर्‍याएको छ। अबको मुख्य चुनौती निर्माणमा ढिलाइ गरिरहेका प्याकेजको कामलाई गति दिनु र थपिएको समयभित्र आयोजना सम्पन्न गर्नु रहेको छ।

निर्माण कम्पनीहरूलाई पटक–पटक अवसर दिँदा पनि कामको गति नबढेको अवस्थामा सरकारले ठेक्का अन्त्य गर्ने चेतावनी दिएको छ। आगामी जेठसम्मको कार्यप्रगतिले कुन कम्पनीको ठेक्का निरन्तर रहने र कुनको सम्झौता अन्त्य हुने भन्ने विषयको दिशा तय गर्ने देखिन्छ।