
काठमाडौं।नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र देखिएको आन्तरिक विवादमा आफ्नो पार्टी संलग्न नहुने स्पष्ट पारेका छन्। उनले रास्वपाका आन्तरिक समस्यासँग कांग्रेसको कुनै सरोकार नरहेको बताएका हुन्।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्दै सभापति थापाले रास्वपाभित्र उत्पन्न हुने कुनै पनि विवादमा कांग्रेसले चासो नदिने र त्यस्ता गतिविधिमा सहभागीसमेत नहुने बताए।
‘हामी राष्ट्रिय स्वतन्त्र पार्टीभित्रका कुनै पनि खालका समस्यामा प्रवेश गर्दैनौँ। त्यसमा हाम्रो रुचि पनि छैन। न हामी कचकच गर्छौँ, न कुनै उपद्रोमा सहभागी हुन्छौँ,’ थापाले बैठकमा भने। यस विषयमा पार्टीको महाधिवेशनबाट पारित दस्तावेजमै स्पष्ट धारणा सार्वजनिक गरिसकेको उनको भनाइ थियो।
सभापति थापाले सरकार सञ्चालन गर्नु सरकारको दायित्व भएजस्तै प्रतिपक्षीको पनि आफ्नै भूमिका र जिम्मेवारी हुने उल्लेख गरे। प्रतिपक्षी दलहरूबीच छुट्टै गठबन्धन निर्माण गर्ने पक्षमा कांग्रेस नरहेको उनले प्रस्ट्याए।
उनका अनुसार सरकारका गलत कामको विरोध गर्नुपर्ने अवस्थामा कांग्रेसले सशक्त प्रतिरोध गर्नेछ भने आवश्यक र उपयुक्त विषयमा सरकारसँग सहकार्य गर्न पनि पछि हट्ने छैन। प्रतिपक्षको भूमिका विषय र परिस्थितिअनुसार निर्धारण हुने उनको भनाइ थियो।
यसैबीच, सरकारको कामकारबाहीबारे प्रश्न उठाउन थालेपछि आफ्नो विषयलाई लिएर अडियो सार्वजनिक गर्ने तथा विभिन्न प्रकारका प्रचारबाजी गर्ने प्रयास भइरहेको पनि थापाले बैठकमा बताएका छन्।
यस्ता गतिविधिको आफूले विगतदेखि नै सामना गर्दै आएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि त्यसविरुद्ध दृढतापूर्वक उभिने बताएका थिए।









Facebook Comments