काठमाडौं ।नेपाली कांग्रेसका सभापति गगन थापाले भोटेकोशी–त्रिशूली बाढीबाट विस्थापित नागरिकको पुनर्स्थापनामा संघीय सरकारले पर्याप्त चासो नदेखाएको बताएका छन्। उनले प्रभावित परिवारलाई सुरक्षित स्थानमा दीर्घकालीन बसोबासको व्यवस्था गर्न आवश्यक परे निजी जग्गा खरिद गर्नसमेत सरकारलाई आग्रह गरेका छन्।

आइतबार रसुवा, नुवाकोट र धादिङका विभिन्न बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका थापाले विस्थापित परिवारको आवास व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्।

ad

सार्वजनिक जग्गा उपलब्ध नभएका ठाउँमा सरकारले निजी जग्गा खरिद गरेर भए पनि पीडितलाई पुनर्स्थापित गर्नुपर्ने उनको भनाइ थियो। बस्ती व्यवस्थापन गर्दा सडक तथा अन्य आधारभूत पूर्वाधारको सुनिश्चितता गरेर मात्रै स्थानान्तरणको प्रक्रिया अघि बढाउनुपर्ने उनले बताए।

बाढी प्रभावित क्षेत्रको अवस्था र पीडितका समस्याबारे अध्ययन गरेपछि प्रतिवेदन तयार पारेर सरकारलाई बुझाउने थापाले जानकारी दिए।

उनले विपद्का बेला सुरुवाती चरणमा सरकार, राजनीतिक दल र विभिन्न निकायले सक्रियता देखाए पनि समय बित्दै जाँदा प्रभावितका समस्या प्राथमिकताबाट हट्ने गरेको बताए। बाढीपहिरो तथा भूकम्पजस्ता विपद्पछि राहत वितरणमा मात्र सीमित नभई दीर्घकालीन पुनर्निर्माण र पुनर्स्थापनामा पनि ध्यान दिनुपर्ने उनको जोड थियो।

संघीय सरकारले विपद्पछिका काम पूरा भइसकेको जस्तो व्यवहार देखाउन खोजेको भन्दै वास्तविक अवस्था बुझ्न आफू प्रभावित क्षेत्रमै पुगेको थापाले बताए।

यस क्रममा उनले धादिङको फुर्केखोलानजिक पुल निर्माणको विषयसमेत उठाए। त्यहाँ पक्की पुल वा बेलिब्रिज निर्माणको काम ढिलाइ नगरी तत्काल सुरु गर्न उनले सरकारसँग माग गरे।

गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो। बाढीका कारण विस्थापित भएका परिवारको सुरक्षित आवास, पूर्वाधार पुनर्निर्माण र स्थायी पुनर्स्थापना अहिले पनि प्रमुख चुनौतीका रूपमा रहेका छन्।