
काठमाडौं।नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार गठनको प्रक्रियामाथि प्रश्न उठाउँदै त्यसलाई असंवैधानिक र अलोकतान्त्रिक भएको आरोप लगाएका छन्। उनले सरकार गठनको सुरुवात नै हिंसा, आगजनी र तोडफोडको वातावरणबाट भएको दाबी गर्दै संविधान र लोकतन्त्रको रक्षाका लागि युवाहरू संगठित हुनुपर्ने बताएका छन्।
नेशनल भोलिन्टियर फोर्सको प्रथम स्थापना दिवस तथा राजधानी प्रदेशस्तरीय कमिटी घोषणा कार्यक्रममा बोल्दै ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकामाथि पनि आलोचना गरे। उनले राष्ट्रपतिले डरका कारण प्रतिनिधिसभा विघटन गरेको आरोप लगाउँदै असंवैधानिक कदमबाट लोकतन्त्रको रक्षा हुन नसक्ने टिप्पणी गरे।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्दा पनि समयमै सुनुवाइ नभएको भन्दै ओलीले न्यायालयको भूमिकाप्रति असन्तुष्टि जनाए। राज्यका संवैधानिक निकायहरूले संविधान र लोकतान्त्रिक मूल्यअनुसार जिम्मेवारी निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा ओलीले नेशनल भोलिन्टियर फोर्सलाई देशव्यापी रूपमा विस्तार गर्दै थप सक्रिय र प्रभावकारी बनाउन निर्देशन दिए। संगठन स्थापना भएको एक वर्षको अवधिमा राष्ट्रियता, लोकतन्त्र, संविधानको रक्षा तथा विपद्का बेला उद्धार र राहतका काममा भूमिका खेलेको उनको दाबी थियो।
उनले फोर्सलाई संगठन विस्तारमा मात्रै सीमित नराखी राष्ट्रिय स्वाधीनता, सीमा सुरक्षा, राष्ट्रिय स्वाभिमान र लोकतान्त्रिक व्यवस्थाको संरक्षणमा परिचालन गर्नुपर्ने बताए। युवाहरूको क्षमता देश निर्माण, विकास, उद्यमशीलता र सामाजिक सेवामा उपयोग गर्नुपर्नेमा पनि उनले जोड दिए।
ओलीले संगठनलाई शान्तिपूर्ण गतिविधिमा केन्द्रित रहन आग्रह गर्दै यसले भिडन्त र मुठभेड खोज्ने नभई समाजमा भएका गलत गतिविधिविरुद्ध आवाज उठाउनुपर्ने बताए।
‘यो अत्यन्तै शान्तिपूर्ण फोर्स हो। यो लड्ने भिड्ने होइन, राम्रो गर भनेर आग्रह गर्ने फोर्स हो,’ उनले भने, ‘हामी निहुँ खोज्न जाँदैनौँ, हामी कहिल्यै पनि भिडन्त खोज्दैनौँ।’
तर, अन्याय र आक्रमणको अवस्था सिर्जना भए प्रतिवाद गर्नुपर्ने उनको भनाइ थियो। संगठनलाई कमजोर नभई अनुशासित, सक्रिय र सुदृढ बनाउन उनले युवाहरूलाई आग्रह गरे।
ओलीले आफ्नो गिरफ्तारीका क्रममा एमालेका नेता तथा कार्यकर्तामाथि भएको प्रहरी हस्तक्षेप र धरपकडको प्रसङ्गसमेत उठाए। प्रहरी तथा प्रशासनले राजनीतिक नेतृत्वको आदेशभन्दा संविधान र कानुनअनुसार काम गर्नुपर्ने उनको धारणा थियो। राजनीतिक आस्थाका आधारमा नागरिकलाई पक्राउ गर्ने, दुःख दिने वा विभेद गर्ने कार्य स्वीकार्य नहुने उनले बताए।
गत भदौ २३ र २४ गते भएका घटनालाई एउटै आन्दोलनका रूपमा व्याख्या गर्न नहुने ओलीको तर्क थियो। उनका अनुसार भदौ २३ गते युवाहरूले आफ्ना माग राखेर आन्दोलन गरेका थिए भने त्यसपछि घुसपैठका कारण लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए।
उनले ती घटनामा संलग्न व्यक्ति तथा समूहको पहिचान गरी निष्पक्ष अनुसन्धान गर्नुपर्ने माग गरे। आगजनी र तोडफोडमा प्रयोग भएको भनिएका रासायनिक पदार्थ तथा पेट्रोल बमबारे पनि गम्भीर छानबिन आवश्यक रहेको उनको भनाइ थियो।
ओलीले राष्ट्रियता, संविधान र लोकतन्त्रको पक्षमा युवाहरूको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै नेशनल भोलिन्टियर फोर्सलाई देशव्यापी रूपमा सक्रिय बनाउनुपर्नेमा जोड दिए।









Facebook Comments